यस वर्ष धान रोपाईं ९८ प्रतिशत

मनसुन सक्रिय भएसँगै मुलुकभर ९८ प्रतिशत रोपाइँ भएको छ । मुलुकभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा रोपाइँ हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । ०७७ साउन २८ सम्म १३ लाख ४६ हजार ९ सय २० हेक्टरमा रोपाइँ भएको छ । ०७६ को भदौ १ सम्मको तुलनामा ५१ हजार ६ सय ३८ हेक्टर क्षेत्रफल बढीमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मुख्य धान रोपाइँ हुने क्षेत्रमा धेरै ठूलो बाढीपहिरो पनि आएन । कोभिड–१९ का कारण सर्वसाधारण गाउँघर पुगे । उच्च पहाडी क्षेत्रमा ९८.८४ प्रतिशत रोपाइँ भएको छ । यो क्षेत्रमा ४८ हजार १ सय ९३ हेक्टरमा रोपाइँ हुन्छ । मध्य पहाडमा ९७.२७ प्रतिशत रोपाइँ भएको छ । यस क्षेत्रमा ३ लाख ४६ हजार ९९ हेक्टरमा धान रोपाइँ हुन्छ । धान उत्पादन हुने मुख्य क्षेत्र तराईमा ९८.५ प्रतिशतमा रोपाइँ भएको छ । यहाँ ९ लाख ७७ हजार ४ सय १४ हेक्टरमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ ।
कोभिडका कारण सरकारले ‘जग्गा बाँझो नराखौं’ अभियान चलाएकाले पनि केही सुधार भएको मन्त्रालयको दाबी छ ।
प्रदेशका हिसाबले सबैभन्दा सुदूरपश्चिम प्रदेशमा रोपाइँ भएको छ । यहाँ ९९.८६ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । गत वर्ष यस क्षेत्रमा शतप्रतिशत रोपाइँ भएको थियो । सुदूरमा १ लाख ६४ हजार ६ सय ३९ हेक्टरमा रोपाइँ हुन्छ । दोस्रोमा प्रदेश २ मा ९९.०२ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यो क्षेत्रमा ९३.४९ प्रतिशत मात्रै रोपाइँ भएको थियो । प्रदेश २ मा ३ लाख ६५ हजार ६ सय १५ हेक्टरमा रोपाइँ हुन्छ । तेस्रोमा प्रदेश ५ छ । यहाँ ९८.६६ प्रतिशत रोपाइँ भएको छ ।
गत वर्ष ९४.३९ प्रतिशत मात्रै रोपाइँ भएको थियो । यस क्षेत्रमा ३ लाख ३ हजार ५ सय ९३ हेक्टरमा रोपाइँ हुन्छ । कर्णाली प्रदेशमा ९८.५३ प्रतिशत रोपाइँ भएको छ । यो क्षेत्रमा ३८ हजार ३ लाख ८५ हेक्टरमा रोपाइँ भयो । गण्डकी प्रदेशमा ९७.६८ प्रतिशत रोपाइँ भयो । यहाँ १ लाख ८ हजार २ सय ७८ हेक्टरमा रोपाइँ हुन्छ । यस्तै प्रदेश १ मा ९५.८८ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यहाँ ९३.४९ प्रतिशत रोपाइँ भएको थियो ।
प्रदेश ३ मा ९७.८५ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । गत वर्ष यहाँ ९६.९५ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष जुम्लामा जेठ १५ देखि रोपाइँ सुरु भएको मन्त्रालयले जनाएको छ । मध्य पहाडमा जेठ अन्तिम साता र तराईमा असार लागेपछि रोपाइँ सुरु भएको थियो ।
खडेरी हुँदा केही क्षेत्रमा भदौ पहिलो सातासम्मै रोपाइँ हुन्छ । गत वर्ष पनि खडेरीकै कारण भदौ १० सम्म पनि रोपाइँ भएको मन्त्रालयले जनाएको छ । यस वर्ष रोपाइँ समयमै भए पनि मलकै समस्या देखिएको छ । रोपाइँकै समयमा मलको चरम अभाव देखिएको थियो । जसले गर्दा उत्पादनमा सामान्य असर गर्न सक्ने मन्त्रालयको दाबी छ ।