शनिबार, १७ असोज २०८३

खेती बगाएपछि राहतको आस

खेतमा लगाएको धानबाली बाढीले बगाएपछि पाल्पाका किसान चिन्तित बनेका छन् । जिल्लाको तिनाउ, माथागढी, बगनासकाली, तानसेन, पूर्वखोलालगायतका किसानले लगाएको धानबाली असोज दोस्रो साता आएको बाढीले बगाएपछि उनीहरू चिन्तित बनेका हुन् । 

प्रभावित क्षेत्रमा हालसम्म तीन सयभन्दा बढी किसानको खेतीमा असर गरेको कृषि ज्ञान केन्द्र पाल्पाको अनुमान छ । पूर्वखोलाको देवीनगर, जग्पा, माथागढीको झडेवा, रुप्से, चिदीपानी, कसेनी बगनासकालीको चिर्तुङधारा, गोर्सत, तानसेनको बुडुवा, अम्लिहान, दमकडाका किसान सबैभन्दा बढी पीडित छन् । 

तानसेन–९ का किसान प्रवीण बस्यालले वर्षभरि खाने धानबालीमा बाढी पसेपछि किनेर खानुपर्ने अवस्था बनेको बताउनुभयो । उहाँले यस वर्ष आएको बाढीले सबै खेती नष्ट गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खेतबाट धानका एक गेडा पनि उठाउने सम्भावना छैन, सरकारले राहत दियो भने किनेर खाने होला ।” 

तिनाउ, तानसेन, धोन्द्रे, सिप्जर, नायर, बाहखोक खोलाक्षेत्रमा आएको बाढीले धानबालीमा क्षति पुगेको छ । ती खोलामा आएको अत्यधिक ठुलो पानीको बहाबले माडीफाँटको ५० प्रतिशतभन्दा बढी भाग डुबानमा परेको थियो । डुबानमा परेका स्थानका धानका बाला बाढीले बगाएको माथागढी–३ का किसान पोमबहादुर रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “तिनाउ नदीछेउमा रहेको सात रोपनी खेतमा लगाएका धान स्याहार्ने अवस्था छैन ।”

यस वर्षको बाढीले माडीफाँटको ४० प्रतिशत धान खेतीमा क्षति पुर्‍याएको केन्द्रले प्रारम्भिक अनुमान गरेको छ । धान खेतीमा क्षति पुर्‍याएपछि किसान राहतको पखाईमा छन् तर सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार भने कृषिजन्य वस्तुमा भएको क्षतिमा राहत दिने विषयमा स्पष्ट छैनन् । 

स्थानीय सरकारले स्रोतसाधन अनुसार राहत दिन तथ्याङ्क लिइरहेका छन् तर प्रदेश र सङ्घीय अन्तर्गतका कार्यालय भने अलमल छन् । कृषि ज्ञान केन्द्र पाल्पाका सूचना अधिकारी केशवराज खनालले पीडित किसानले राहतबारे सोधपुछ गर्ने गरे पनि आफूहरूले ठोस जवाफ दिन नसकेको बताउनुभयो । उहाँले केही वर्षअघि धानबालीमा भएको क्षतिपछि सङ्घीय र प्रदेश सरकारले राहत दिए पनि यस पटक भने राहत दिने/नदिनेबारे हालसम्म कुनै निर्णय आउन नसकेको बताउनुभयो ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *