बिहिबार, ०६ मंसिर २०८१

५० औं वर्षमा : राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम

व्यावसायिक उखु बालीको विकासमा सरकारी स्तरबाट सहयोग, प्रवर्द्धन तथा अनुसन्धान गर्ने उद्देश्य सहित वि.सं. २०२८ (सन् १९७१) मा बारा जिल्लाको जितपुरमा स्थापना भएको यस राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम स्थापनाको पचासौं वर्षको पूर्व सन्ध्यामा छ । हालको संरचनाको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम स्थापना कालमा उखुबाली विकास कार्यक्रमको नाममा स्थापना भएको थियो । सुरुवाती अवस्थामा परवानीपुर कृषि केन्द्र (साविक नार्कको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र अहिले कृषि अनुसन्धान निर्देशनालय)को अधिनमा रही रही एक इकाईको रुपमा रहँदै आएको थियो भने सन् १९८१ मा आएर मात्र हालको राष्ट्रिय उखुबाली विकास कार्यक्रमको रुपमा संरचना स्थापित छ । नार्क अन्तर्गतको उखुबाली विकास कार्यक्रमको जिम्मेवारी लिए संगै जितपुर बारा स्थित हालको सिमरा जितपुर उपमहानगरपालिका वडा नं. ६ बाट देशैभर उखुबाली सम्बन्धि अनुसन्धान र प्रसारको काममा गर्दै आएको थियो भने सन् १९९१ मा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) विनियम १९९१ जारी भएपश्चात् नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत उखुबाली अनुसन्धान कार्यक्रमको नाममा स्थापना भयो । पछिल्लो पटक सन् २०१५ मा उखुबालीलाई विशेष प्राथमिकता दिने सरकारी मान्यतास्वरूप तत्कालिन उखुबाली अनुसन्धान कार्यक्रमको नाम राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम नामाकरण गरिएको छ ।

राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमको मुख्य मुख्य उपलब्धि

हाल उखु उत्पादन प्रविधि अनुसन्धान तथा विकास सम्बन्धित सबै क्रियाकलापमा देशव्यापी समस्यालाई मध्यनजर गर्दै किसानहरुको जीवनस्तर उकास्ने प्रविधि विकास, समस्या समाधान कार्य तथा नेपाल सरकारलाई नीतिगत सुझाव दिनेमा प्रत्यक्ष संग्लन हुँदै आइरहेको छ । उखुको उत्पादन वृद्धि हुने, रोगकीरा अवरोधी र अजैविक तनाव सहनसिल सहने उन्नत जातहरुको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गरी जीवन निर्वाह कृषि देखि व्यवसायिक कृषितर्फ उन्नतीकरण गर्न योगदान गर्दै आएको छ ।

१. उखुका उन्नत जातीय विकास

छिमेकी मित्रराष्ट्र भारतसंगको सहकार्यमा विभिन्न अनुसन्धान प्रक्रिया पार गर्दै उखुका ७ वटा जातहरु सूचीकृत र सिफारिस भईसकेका छन् । यी जातहरु विभिन्न हावापानी, भूगोल, माटो र मौसम सुहाउँदो र विभिन्न पाक्ने समय अनुसार सिफारिस गरिएको छ । कार्यक्रम संचालनको कार्यालय जीतपुरको नाममा हालसम्म जीतपुर १,२,३ र ४ गरि चारवटा उखुका जातहरु सूचीकृत गरिएको छ भने यही वर्षमात्र उखुको तीन वटा जातहरु जितपुर-५, जितपुर-६ र जितपुर-७ जातहरु पन्जीकरण गरिएको छ ।

२. उखुका स्थानिय, उन्नत तथा जङ्गली जातहरुको संरक्षण तथा अध्ययन

नेपालमा पाइने उखुका १८ वटा जातहरुलाई विभिन्न स्थानबाट संकलन गरी राष्ट्रिय उखु जीन बैंकमा संरक्षण गरी आगामी दिनमा उखु प्रजननको लागि अध्ययन तथा अनुसन्धान भइरहेको छ । साथै जङ्गली जातहरु पनि यसै ठाउँमा राखी जातीय विशेषताको भइरहेको छ । यस जीन बैंकमा कुल २५० वटा उखुका जातहरु संकलन तथा संरक्षण गरिएको छ ।

३. बाली व्यवस्थापन

बालीको उत्पादन तथा उत्पादकत्व बढाउने विभिन्न व्यवस्थापन विधिहरु सिफारिस गरेको छ । बालीको अधिकतम उत्पादन लिन अगौटेजातलाई रोप्ने समयमा कार्तिक सुरुको हप्तामा र मध्यम पाक्ने जातहरुलाई फागुन पहिलो हप्तामा लगाउन सुझाव गरिएको छ । त्यसैगरी झारपात व्यवस्थापन गर्न मेट्रिबुजिन २ के.जी सक्रिय तत्व (ए.आइ.) प्रति हेक्टर झार र बाली उम्रिनु अघि र २, ४-डी नामक विषादी २ के.जी सक्रिय तत्व (ए.आइ.) प्रति हेक्टर बाली र झार उम्रेपछि प्रयोग गर्ने सिफारिस गरिएको छ । मलखाद व्यवस्थापन, रोप्ने दूरी, रोगकीरा नियन्त्रण सम्बन्धि विभिन्न प्रविधिहरु विकास गरिसकेको छ ।

४. विभिन्न बालीको उन्नत तथा मूल बीउ उत्पादन

उखुको मुख्य समस्या भनेको उन्नतजातको विउ उपलब्ध नहुनु हो । यस कार्यक्रमले उखुको मूल तथा उन्नत विउहरु २२८ मेट्रिक टन उत्पादन गरेको छ साथै धान हर्दिनाथ- १ को १२ टन र त्यसैगरी धैचा र सनईको ९०० केजी विउ उत्पादन गर्दै आइरहेको छ ।

५. मेसिनरी औजार

कृषि औजार अनुसन्धान केन्द्र, रानीघाटको सहकार्यमा उखुबालीको उत्पादन लागत कम गराउने हेतुले विभिन्न मेसिनरी उपकरणको सफल परिक्षण भइसकेको छ । उखुको खुट्टी टास्ने उपकरण (Sugarcane Ratoon Shaver), उखु रोप्ने मेसिन, उखु गोड्ने तथा माटो चढाउने मेसिनहरु बारा, पर्सा किसानहरुले अपनाईसकेको छ । तर यस उपकरणलाई सबै किसान समक्ष पुर्याउन कस्टम हाईरीङ्ग स्थापन गर्नु पर्ने जरुरि देखिन्छ ।

राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमको दीर्घकालीन कार्यहरु

  • उखु प्रजननको लागि आवश्यक सम्पूर्ण वातावरणयुक्त कृतिम रुपमा सिर्जना गर्न सकिने सुविधा सम्पन्न पूर्वाधार (Phytotron) निर्माण गर्दै छ ।
  • National Biotechnology Division सहयोगार्थ mutation breeding मार्फत केही जातहरुमा गुणस्तर सुधारका काम भइरहेको छ ।
  • तन्तु प्रजननद्वारा उन्नत जातहरु विउ उपलब्धतामा वृद्वि गर्न Tissue culture Lab निर्माण गर्दै आएको छ ।

चुनौती

देशमा एकतर्फ चिनीको माग बढ्दै गइरहेको छ भने अर्को तर्फ चिनी मिलहरु बन्द हुँदैछ Iदेशमा उखुबाली सम्बन्धि विधमान समस्या भएपनि उखु खेतीलाई प्रेरित गर्ने, प्रविधि विस्तारमा सहयोग पुर्याउने नेपाल सरकारले कुनै ठोस कार्यक्रम बनाउन सकेको छैन । अनुसन्धान तथा जातीय विकासमा भारतबाट जर्मप्लाज्म ल्याउन कुनै चासो देखाएको छैन । नेपालमै फाईटोट्रान  बनाई नयाँ जात विकास गर्न कम्तिमा २० वर्ष लाग्ने छ । कृषि प्रसार, अनुसन्धान र चिनी मिलको सक्रिय समन्वय नहुँदा विकास गरिएका प्रविधि पनि विस्तार हुन सकेको छैन । राष्ट्रियस्तरको अनुसन्धान तथा अध्ययन गर्नुपर्ने संस्थामा जनशक्तिको अभावका कारण किसानको धेरै समस्यालाई समाधान गर्न अनुसन्धानको कार्य गर्न नसकिरहेको अवस्था छ । किसानहरु समयमा मल नपाउनु, भुक्तानीमा विभिन्न समस्या देखिनु र युवाको विदेश पलायनको कारण समयमा ज्यामी नपाउनु र लागत बढ्नाले किसानले उखु खेती किसानी छोड्ने क्रम वर्षेनी बढ्दै गएको छ । यस्तै अवस्था अथावत रहे छिटै नै नेपाल पनि पूर्णरुपमा अर्को देशसंग चिनीमा निर्भर हुनुपर्ने छ ।

(लेखक राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम, जीतपुर, बारामा प्राविधिक अधिकृत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *