असिना पछि मकैमा फौजी कीराको आक्रमण
असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी कीराको प्रकोप फैलिएपछि जिल्लाका किसान चिन्तित बनेका छन् । केही दिनदेखि निरन्तर परिरहेको असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी कीराको प्रकोपसमेत फैलिएपछि किसान चिन्तित बनेका हुन् ।
फौजी कीराले प्रमुख बालीका रूपमा लगाइएको मकैका बिरुवाको मुन्टा, गुभो, पात खाएर नष्ट गरेको छ । मकै उम्रिएर तीन÷चार पात पलाउँदादेखि गोडमेल गर्ने बेला भएको र गोडमेल गरिसकेको बिरुवालाई फौजी कीराले नष्ट गर्दा उत्पादन घट्ने र खाद्यान्न सङ्कट निम्तिने डरले किसान चिन्तित भएका बताइएको छ ।
असिनापानीका कारण रावाबेँसी गाउँपालिकाको एउटै वडामा लाखौँ मूल्य बरारबको अन्नबालीमा क्षति पुगेको जनाइएको छ । यही वैशाख २ गते परेको असिनाले उक्त गाउँपालिकाको वडा नं ६ हौंचुरको पैयाँमा करिब ५२ हेक्टर क्षेत्रफलमा लगाइएको रु २३ लाख बराबरको अन्नबाली नोक्सान गरेको जनाइएको छ । हौंचुरस्थित पैयाँका ३१ घरपरिवारले लगाएका आलु, मकै, गहुँ, जौ, तरकारी तथा फलफूलमा ठूलो क्षति पु¥याएको गाउँपालिकाको कृषि शाखाका संयोजक मुगाधन राईले बताउनुभयो । असिनाले पु¥याएको क्षतिका विषयमा जानकारी आएपछि गाउँपालिकाको कृषि प्राविधिक टोली स्थलगत अनुगमनमा पैयाँ पुगेको थियो ।
जिल्लाका दश स्थानीय तहमध्ये हालसम्म जन्तेढुङ्गा गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा लगाइएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताउनुभयो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा फौजी कीराको प्रकोप देखिएको छ ।