आँपमा वर्ष बिराउने समस्या र समाधान
धेरैजसो आँपका जातहरुमा नियमित रुपमा फूल फुल्दैनन् । सामान्यतया आँपमा एक वर्ष फल लाग्ने र अर्को वर्ष फल नलाग्ने वा कम फल लाग्ने गर्दछ । धेरै फल लाग्ने वर्षमा फलको आकार सानो हुन्छ भने कम फल लाग्ने वर्षमा दाना ठूलो हुन्छ । नियमित फल लाग्ने जातहरुमा भने वर्षेपिच्छे एउटै साइज र गुणस्तरको फल लाग्दछन् । यस्ता जातहरुले राम्रो बजारभाउ पाउँदछन् भने किसानको आयआर्जन पनि राम्रो हुन्छ । भारी वा लटरम्म फल लागेको वर्षमा बोटले अधिक मात्रामा खाद्यतत्व प्रयोग गर्छ र नयाँ पालुवाहरुमा पोषकतत्वको कमी हुन जान्छ । जसले गर्दा अर्को वर्ष फल नलाग्ने वा कम फल लाग्ने समस्या आउँछ । अनियमित फल लाग्ने समस्याको मुख्य कारणहरु जातीय विशेषता, जलवायु, बगैँचाको अवस्था र बगैँचा व्यवस्थापन हुन् ।
जातीय विशेषता
ढिला फल लाग्ने जातमा प्राय यो समस्या देखिन्छ । आँपमा फल टिपिसकेपछि पालुवाहरु पलाउँछन् र फूल फुल्नु भन्दा केही समय अगाडी निष्क्रिय भएर बस्छन् । फूल फुल्न सुरु भए देखि फल टिप्न योग्य हुने सम्मको अवधिलाई फल वृद्धि विकास हुने अवधि भनिन्छ । फल टिपेदेखि पालुवा पलाउने, पालुवा पलाएदेखि फूल फुल्ने र फूल फुल्नेदेखि फल टिपाईसम्मको अवधि प्रत्येक जात अनुसार फरक हुन्छ । फूल फुल्ने देखि फल टिप्न योग्य समय सम्म ३.५ देखि ५ महिनासम्म लाग्छ । यसैको अधारमा अगौटे, मध्य सिजन र पछौटे जातहरु छुट्याइएका छन् । पछौटे जातहरुमा एउटा बृद्धि विकासको चक्र पूरा हुन १२ महिना भन्दा बढी समय लाग्छ । यस्ता जातहरुमा धेरै फल लाग्ने वर्षमा फल टिपेपश्चात् बृद्धि विकास चक्र (पालुवा पलाउन र अर्को वर्षको लागि खाद्यतत्व जम्मा गर्न) पुरा गर्न निकै कम समय हुन्छ । फलस्वरुप नयाँ पालुवा अर्को वर्षसम्म परिपक्व हुँदैन र बोटमा पोषकतत्वको कमी हुन्छ । यसकारण अर्को वर्ष फल निकै कम लाग्छ । कुनै जातमा वर्षै पिच्छे फल लाग्ने अनुवंशीय गुण हुन्छ ।
जलवायु
आँपमा अनियमित फल लाग्नुको मुख्य कारण वर्षा हो । फल टिपेको लामो समयसम्म पानी परेन भने ढिलो पालुवा पलाउँछ र फूल फुल्ने बेलासम्म परिपक्क हुँदैन । तसर्थ त्यो वर्ष फल उत्पादनमा कमी आउँछ । तापक्रम र प्रकाशको मात्रा नपुग्नाले पनि फल फूल्न सक्दैन । धेरै मलिलो माटो, पानी जमिनको तह माथि नै भएको र छाँया पर्ने ठाउँमा आँप लगाउँदा वानस्पतिक बृद्धि धेरै हुन्छ । वानस्पतिक र प्रजनन बृद्धिदर सन्तुलित नहुँदा फूल फुल्न र फल लाग्न कम हुन्छ । फूल फुल्नु भन्दा अघि पानी परेन भने राम्रोसँग फूल फुल्न मदत गर्छ ।
बगैंचा व्यवस्थापन
यदि सही ढङ्गले बगैँचाको रेखदेख गरेमा आँपमा अनियमित फल लाग्ने समस्यालाई न्यून गर्न सकिन्छ । मलखाद र सिँचाईको उचित प्रयोगले नियमित फल फलाउन मदत गर्छ । रोग कीरा समयमा नै नियन्त्रण गर्नुपर्छ । बगैँचालाई रोग कीरामुक्त राख्न सकेमा नियमित फलदिने बोटहरुमा अनियमिता आउँदैन । राम्रो व्यवस्थापनले बोटको जीवनचक्र सहज गराउँदछ र वर्षेपिच्छे फल लाग्न सहयोग गर्छ ।
आँपको अनियमित फल लाग्ने समस्यालाई न्यून गर्न अपनाउनु पर्ने केही कृषि कर्महरु
१. जात छनौट
सकेसम्म छिटो उत्पादन दिने अगौटे जातहरु छनौट गर्नुपर्छ । ढिलो फल्ने जातहरु लगाएको छ भने समयमै फल टिप्नुपर्छ । बोटमा फल लामो समयसम्म रही रह्यो भने अर्को बर्षको उत्पादन घट्छ । नियमित फल लाग्ने जातहरु लगाउनुपर्छ । निलम, अम्रपाली, मलिका, तोतापुरी रेड स्मल, बेङ्गलोरा अदि नियमित फल लाग्ने जातहरु हुन् ।
२. रोगकीराको व्यवस्थापन
आँपको फड्के कीरा र कोत्रे रोग लागेको वर्षमा फल नलाग्ने वा नरहने समस्या व्यापक देखिएको छ । बगैँचामा समय समयमा निरिक्षण गरी रोगकीरालाई नियन्त्रण गर्न उचित उपाय अपनाउनु पर्छ । वर्षाको समयमा १५ दिनको अन्तरालमा वोर्डो मिश्रण १० ग्राम प्रति लिटर र कपर अक्सिक्लोराइड १.५ एम.एल प्रति लिटर का दरले पालैपालो गरी छर्दा कोत्रे रोग नियन्त्रण गर्न सकिन्छ । फड्के कीराको लागि इमिडाक्लोप्रीड १.५ एम.एल प्रति लिटर पानीका दरले फूल फुल्नु भन्दा पहिले र केराउ साइजको फल बनेपछि छरेर नियन्त्रण गर्न सकिन्छ । विषादी छर्दा फूल फुल्ने समयमा छर्नुहुदैन । मिलिबग, औसा, कोयामा लाग्ने घुन र रेड वेन्डेड क्याटर पिलर आँपमा लाग्ने अन्य मुख्य कीराहरु हुन् । पाउड्री मिल्ड्यू, सुटी मोल्ड, हाँगाका टुप्पा सुक्ने रोग र व्याक्टेरियल क्याङकर पनि आँपको प्रमुख रोग हुन् । यिनलाई समयमै रोकथाम गर्नुपर्छ ।
३. बिरुवावर्द्धक रसायनको प्रयोग
विभिन्न अनुसन्धान अनुसार असोज महिनामा बोट वरिपरिको माटोमा प्याक्लोबुट्राजोल वा कल्टार (४–१० ग्राम प्रति बिरुवाका दरले मिलाएर हाल्दा छिटै फूल फुलेको र फलको उत्पादन पनि बढेको पाइएको छ (कार्की, २०५०; शाह र घिमिरे, २०७०) । विशेष गरी नयाँ बगैँचाहरुमा प्रत्येक वर्ष प्याक्लोबुट्राजोलको प्रयोग गर्न सकिन्छ । त्यस्तै पोटासियम नाइट्रेटको २% घोल बनाएर छर्किदा फल नलाग्ने वर्षमा पनि फूल फुलाउन सकिन्छ । फिलिपिन्समा आँपको बगैँचामा धुँवाको प्रयोगबाट फूल फुलाउने गरिन्छ । धुँवामा इथाईलिन नामक बिरुवाबर्धक रसायन पाइने हुनाले फूल फुल्ने गर्छ ।
४. बोटमा फूल र फलको भार कम गर्ने
बोटले धान्न नसक्ने गरी फल लागेको वर्षमा केही फलहरु झारेर फलको संख्या घटाउनुपर्छ । बोटले थेग्न सक्ने गरी फल राख्ने र अरु फल अक्जिन प्रयोग गरेर वा हातैले टिपेर झार्दा अर्को वर्ष पनि राम्रो फल लाग्छ । यस्तै गरी अक्जिन प्रयोग गरेर फूल धेरै लागेको वर्षमा झारेर पातलो बनाउन सकिन्छ । तर फूल भन्दा फलको भार कम गर्नु उचित हुन्छ ।
५. हाँगाको बोक्रा हटाउने वा रिङ्ग बनाउने
बोटको कुनै पुरानो हाँगामा फल नलागेको छ भने त्यो हाँगाको फेदबाट बोक्रा हटाइदिनुपर्छ वा रिङ्ग गराउनुपर्छ । यसो गर्दा बोक्रा हटाइएको वा रिङ्ग बनाइएको भन्दा माथिल्लो भागमा कार्बोहाइडे«टको मात्रा बढ्छ र फूल फुल्न थाल्दछ ।
६. उचित सिंचाईको व्यवस्था
फूल फुल्नु भन्दा २–३ महिना अगाडि सिंचाई रोक्नुपर्छ । फूल फुल्न सुरू भएपछि १५ दिनको अन्तरालमा सिंचाई गर्नुपर्छ ।
७. मलखाद व्यवस्थापन
खाद्यतत्व र पानी जमिनबाट सोसेर लिने जराहरु प्राय जमिनको सतह देखि ३०–६० सेमी गहिराईमा नै बृद्धि भइरहेका हुन्छन् । यसैले बोटको मुख्य काण्डबाट १.५ देखि २ मिटरको दुरीमा २०–३० सेमी गहिरो गरी रिङ्ग बनाएर मलखाद मिलाउनुपर्छ ।
तालिका १४. आँपमा मलखाद दिने तरिका
मलखाद | प्रति बोट (केजी) | कैफियत |
गोबरमल | २० | असार–साउनमा र चैत्र–वैशाखमा रिङ्ग बनाएर दिने । |
हाडको मल | २.५ | पोटास दिँदा खरानी वा पोटासियम सल्फेट बाट दिनु पर्छ । |
पोटासियम सल्फेट र सुक्ष्मतत्व (क्याल्सियम, म्याग्नेसियम, फलाम, जस्ता, बोरोन र म्याङगानिज) १
सुक्ष्म खाद्यतत्व दिँदा १.५ एम.एल. प्रति लिटर पानीमा घोलेर दिनुपर्छ ।
दोस्रो वर्ष पछि दस वर्षसम्म प्रति वर्ष २५–३० केजी कम्पोष्ट वा गोबरमल, ०.५ केजी हाड्डीको चुर्ण र ०.४ केजी पोटासियम सल्फेटकादरले बढाउँदै जानुपर्छ । फल दिन थालेपछि फल लाग्ने वर्षमा १.२ केजी नाइट्रोजन र ०.२ केजी पोटास दिनुपर्छ भने फल नलाग्ने वर्षमा नाइट्रोजनको मात्रा आधा घटाउन सकिन्छ ।