कुटो कोदालो लिएर किसान सडकमा
किसानले समयमा मल र बिउ नपाउँदा र उत्पादन भएको कृषि उपजको मूल्यसमेत गिरावट भएपछि आन्दोलन सुरु गरेका छन् । झापाको गौरादहका किसान हलोजुवा, कुटोकोदालो र आफ्ना उपज सडकमा तेस्र्याएर आन्दोलनमा उत्रेका हुन् ।
आइतबार विभिन्न माग राख्दै झापाको गौरादहमा कृषकले गौरादह–८, चन्दन चोकमा केही समय सडक जाम गरे । एक साताअघि पनि उनीहरूले यसरी नै सडक जाम गरेका थिए । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले किसानका समस्या नसुनेकाले ध्यानाकर्षण गराउन बन्दमा आउनु परेको किसानको भनाइ छ ।
धान, मकैलगायत किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्य पाउने अवस्था सिर्जना गरिनुपर्ने, मल, बिउ, विषादी समयमा पाउनुपर्ने, ट्याक्टर जोताइको दररेट तोकेर कार्यान्वयन गरिनुपर्ने, कृषि सिँचाइ महसुल पूरै छुट हुनुपर्नेलगायत किसानका माग छन् ।