अलैंचीको मूल्य एक लाख रुपैयाँ
पहाडी जिल्लामा उत्पादन हुने अलैँचीको मूल्य एक दशकपछि एक लाख रुपैयाँ नजिक पुगेको छ । व्यापारीहरूका अनुसार अलैँची प्रतिमन (४० किलो) एक लाख रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।
अलैंची व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले ठूला र राम्रो दानाको प्रतिमन एक लाख, पुच्छर काटेको (कैँची कट भनिन्छ) लाई ९८ हजार र चलनचल्तीको (सुकाएर निकालेको) लाई ९५ हजारका दरले कारोबार भइरहेको बताए । उनका अनुसार पछिल्लो दशकमै अलैँचीको मूल्य यतिसम्म पुगेको थिएन । २०७० र ०७१ सालमा एक लाख ५ हजार सम्म मूल्य पुगेको थियो । गतवर्ष भने यो समयमा ६० हजार प्रतिमन रहेको थियो । जिल्लाका व्यापारीहरूले अहिले नै पनि मनको एक लाख रुपैयाँ लगाउन थालेका छन् ।
‘भोलि भाउ बड्न सक्ने अनुमानमा कसले कति रिक्स मोलेर किन्ने भन्ने आफैंमा निर्भर हुने हो,’ भट्टराईले भने, ‘अहिलेकै बजार मुल्य चाँहि झापा बिर्तामोडमा यही अनुसार छ ।’
नेपालमा उत्पादित ९० प्रतिशत बढी अलैँची झापाको काँकडभिट्टा नाका भएर भारत निर्यात हुने गरेको व्यवसायी बताउँछन् । जिल्ला र गाउँका व्यापारीले बिर्तामोडको दरभाउमा भाडा जोडेर खरिद गर्ने गरेका छन् । कतिपयले मूल्य बड्ने आशामा चलेकोभन्दा बढी मूल्यमा खरिद गर्ने र राख्ने गरेको व्यापारीहरु बताउँछन् ।
सुकेको अलैंची जति राख्दापनि नबिग्रिने भएकाले किसान स्वयम्ले पनि गोदाम गरेर राख्छन् । तर गाउँघरमा आगलागी र चोरीको डर हुने भएकाले अधिकांशले उत्पादन गरेपछि सदरमुकाम पुर्याएर राख्ने गरेका छन् ।
किसानबाट खरिद गरेको अलैंची व्यापारीहरूले ग्रेडिङ गरेर छुट्याउँछन् । ‘पहिला चाँहि प्राय व्यापारीहरूले कामदार लगाएर ठुलो, सानो दाना छुट्याउने गरेका थियौँ,’ निर्मलले भने, ‘अहिले कतिपय स्थानबाट किसानले नै छुट्याएर पठाउने गरेका छन् ।’
भर्लाङ जातको अलैंचीको दाना ठुलो हुने गरेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार काँकरभिट्टा नाकाबाट चालु वर्षको पहिलो तीन महिनामा ७ सय ८३ ट्रन भारत निर्यात भएको छ । नेपालका ४२ जिल्लामा अलैंचीको उत्पादन हुने गरेको छ । साउनबाट उत्पादन सुरु हुने अलैंची मंसिर पहिलो साता बोटबाट निकाली सकिन्छ ।