बुधबार, २० श्रावन २०७८

टमाटरमा लाग्ने खतरनाक कीरा टुटा एब्सोलुटा

Share via:
  •  
  •  
  •  
  •  
  •  

टुटा एब्सोलुटा (Tuta absoluta) गोलभेंडामा लाग्ने एउटा खतरनाक कीरा । यसको उत्पत्ति दक्षिण अमेरिकामा भएको हो भने अहिले यो कीरा युरोप, अफ्रीका, भारत हुँदै २०७३ साल देखि नेपालको काठमाडौं, भक्तपुर, काभ्रे लगायतका जिल्लाहरूमा देखा परेको थियो । हाल यो कीराले नेपालको सबै ठाउँहरूमा क्षति पुर्याएको छ ।

यो कीराले गोलभेंडा लगायत आलु, भान्टा आदि बालीहरूमा पनि बढी आक्रमण गर्ने गर्दछ किनभने यी बालीहरू पनि दक्षिण अमेरिकाबाट नै उत्पत्ति भएको हो । टुटा एब्सोलुटालाई गोलभेंडा र आलुको पात खनुवा कीरा (leaf miner) भनेर पनि चिनिन्छ । टुटा एब्सोलुटा तथा आलुको दानामा लाग्ने कीरा (Phthorimaea operculella) र संचित अनाजमा लाग्ने पुतली कीरा (Sitotroga cerealella) कीराको पुतली समूह Order – Lepidoptera को एउटै परिवार Gelechidae का सदस्यहरू हुन् ।

गोलभेंडाको पातमा अन्य कीराले पनि किरीमिरी परेको सुरुङ बनाउंदछन् र तिनिहरूलाई पनि पात खनुवा (leaf miner) भनिन्छ । अन्य पात खनुवा कीरा र टुटा एब्सोलुटाको नोक्सानीको प्रकृति फरक हुन्छ । टुटा एब्सोलुटा पात खनुवा कीराले बालीको पातको भित्र पसेर पातको हरियो पदार्थ खाँदै गर्दा पातमा सेता धर्साको सट्टा सेता धब्बाहरू देखिन्छन् भने यस्ता धब्बा भित्रको भागमा कीराको लार्भा भेटिन्छन् । हाम्रो जस्तो कम्जोर क्वारेन्टिन कार्यक्रम भएको देशमा यो कीरा छोटो समयमै देशभर फैलिनएको हो । त्यसैले यसको आइपिएम प्रविधी मार्फत व्यवस्थापनका लागि अनुसन्धान र प्रसार कार्यमा अझ ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।

कीराको जीवन चक्र

टुटा एब्सोलुटाले पातको तल्लो सतहमा वा बढ्दै गरेको मुना, डाठ तथा कलिला फलका भेट्नामा सानो, लाम्चो, धमिलो सेतो रंगको वयस्क पुतलीले सामान्यतया २६० ओटा फुल पार्दछ र त्यो फुल करिब ७ दिनपछि लार्भामा परिणत हुन्छ । फुलबाट निस्किएको लार्भाको टाउको कालो र शरीर सुरुमा सेतो भएपनि पछि हल्का हरियो वा गुलाबी रंगमा परिणत हुन्छ । पूर्ण विकसित लार्भा पातबाट जमिनमा झर्दछ भने कहिले काहीँ पातमा नै रहन्छ र प्युपामा परिणत हुन्छ र १० दिनपछि वयस्कमा परिणत हुन्छ । माउ पुतली करिब ६ मिलिमिटरको खैरो वा ध्वासे रंगको हुन्छ भने पोथी पुतली १०-१५ दिनसम्म र भाले पुतली ६-७ दिनसम्म बाँच्दछ ।

कीरा कसरी फैलिन्छ

टुटा एब्सोलुटा सानो तर पखेटा भएको पुत्ला कीरा हो । त्यसैले वल्लो पल्लो खेतबारीमा आफै पनि फैलन्छ । तर एक क्षेत्र देखि अर्को क्षेत्रमा र एक देश देखि अर्को देशमा भने मानवीय गतिविधिका कारण फैलन्छ । खासगरी टुटा एब्सोलुटाले फुल पारेका वा त्यसका लार्भा, प्युपा संक्रमित गोलभेडाका बेर्ना वा फलको ओसार पसार गर्ने हुँदा यो कीरा फैलन्छ र नेपालमा पनि भारतबाट संक्रमित कीरा संगको गोलभेंडा आयात गर्ने क्रममा यो कीराको प्रवेश भएको हो ।

क्षतिको प्रकार

यो कीराले माटो भन्दा माथिको भागलाई क्षति पुर्याउंदछ । जब अण्डा लार्भामा परिणत हुन्छ यसले पात, फल र डाठभित्र पसेर सेतो कुलो वा सुरुङ्ग जस्तै बनाउंछ र पात बिस्तारै खैरो भइ सुकेर मर्छ । यसले फललाई पनि खाइ प्वालहरू बनाउछ जसबाट विभिन्न प्रकारका ढुसी विकास हुनुका साथै विभिन्न जिवाणुले आक्रमण गर्छन् र फलहरू कुहिएर खेर जान्छ । यदि समयमै यसको व्यवस्थापन नभएमा ८० देखि १०० % सम्म बालीमा नोक्सानी पुर्याउंदछ ।

व्यवस्थापन

टुटा एब्सोलुटा कीरा नियन्त्रण गर्न यी उपाय अपनाउन सकिन्छ,

१) गोलभेंडाको वरिपरि झरपात राम्ररी सफा गर्नुपर्छ । यो कीराको माउ वरिपरि भएको घाँसमा बसेको हुन्छ र सफा मौसममा गोलभेंडाको बारीमा गइ गोलभेंडाको पातमा अण्डा पर्दछ ।

२) गाई, भैंसीको गहुँत ३६.५ लि., ३६.५ लि. पानी र १ लि. जिवानु प्रयोग गरी तयार पारिएको झोलमल १ भागमा ३ भाग पानी मिसाइ २-३ दिनमा बिरुवा भिज्नेगरी प्रयोग गरेमा कीराको आक्रमण केही हतसम्म कम हुन्छ।

३) फर्ममा साझपख बत्ती प्रयोग गरी यो कीराको माउलाई कम गर्न सकिन्छ । यसको लागि २५ वाटको सिएफएल चिमलाई बाली मुनि प्लास्टिकको बाटामा जि-सुनामी नामक विषादी र पानी मिसाइ राखेमा यस कीराको माउ पुतलीको नियन्त्रण हुन्छ ।

४) यो कीरालाई फेरोमेन ट्र्याप प्रति रोपनी ४ ओटाको दरले प्रयोग गरी भाले पुतलीको नियन्त्रण गर्न सकिन्छ । जसमा रबरको बट्टामा कपाससँग क्युलियर नामक विषादी (पोथिको गन्ध आउने) र मालथियन (पुतलीलाई मार्ने विषादी) को प्रयोग गरेर भाले पुतलीको नियन्त्रण गर्न सकिन्छ । जसमा भाले पुतली बिना पोथी पुतलीले फुल पार्न सक्दैन र उक्त कीराको वृद्धि हुनमा रोकिन्छ ।

५) बजारमा उपलब्ध हुने नीमको कीटनाशक विषादी ५ मि. लि. प्रति लिटर पानीमा मिसाएर छर्काएमा यस कीराको आक्रमणलाई निकै कम गर्न सकिन्छ ।

६) बजारमा उपलब्ध महाशक्ति (Bacillus thurngensis) नामक जैविक विषादी प्रति लिटर पानीमा २ मि.लि.का दरले सख्खर ५ ग्राम मिसाएर बेलुकिपख गोलभेंडा फर्ममा छर्नाले यसको लार्भा कम गर्न सकिन्छ ।

७) इमार नामक विषादीलाई डाडा गार्ड नामक वानस्पातिक विषादीसँग ७-१० दिनको फरकमा छर्नाले केही हदसम्म कीराको नियन्त्रण गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *