आइतबार, २० माघ २०८१

धानमा रोग लागेपछि किसान मारमा

(सांकेतिक तस्वीर)

कोरोनाको त्रासमा रहेका सुनसरीको बराहक्षेत्र नगरपालिकाका किसानहरूले लगाएको धानबालीमा ‘लिफ ब्लाइट’ रोग देखा पर्न थालेपछि चिन्ता थपिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि घोषणा गरिएको लकडाउनमो मार खेपिरहेका किसानको धानबालीमा ब्याक्टेरियल लिफ ब्लाइट रोग देखिन थालेको छ ।

बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ८ र ९ का किसानहरूले लगाएको धानबालीमा ब्याक्टेरियल लिफ ब्लाइट रोग देखा परेको हो । किसानहरूले रोगको बारेमा जानकारी गराएपछि बराहक्षेत्र कृषि शाखाले किसानको खेतमै पुगेर रोगको पहिचान गरी त्यसको नियन्त्रण गर्न थालेका छन् । लकडाउनकै समयमा पनि सामाजिक दूरी कायम गर्दै कृषि शाखाले रोगको बारेमा सहजीकरण गरेको हो ।

रोग नियन्त्रणका लागि कृषि शाखाले कपर अक्सिक्लोराइड ३ ग्राम प्रतिलिटर पानी र स्टेप्टोसाइक्लिन शून्य दशमलव २५ ग्राम प्रतिलिटर पानीमा मिश्रण गरी प्रतिकठ्ठा २० लिटरको दरले स्प्रे गर्ने गरिएको कृषि शाखाकी प्रमुख तुलसा लिम्बुले बताइन् । उनले भनिन्, ‘किसानहरूले लगाएको हरेक अन्न बालीहरूको लागि समयमा नै परामर्श र सेवा उपलब्ध गराउन नसक्दा समस्या देखिने गरेको छ । समयमै रोगका विषयमा जानकारी गराउन आवश्यक छ ।’

५० जना किसानहरूको धानबारीमा देखा परेको रोग पहिचान गरी विषादी र किट वितरण गरिएको कृषि प्राविधिक निरबहादुर राईले बताए । किसानलाई परामर्श समेत दिएको र किसानहरूले विषादी र किटको उचित प्रयोग गरेमा रोग नियन्त्रणमा आउने प्राविधिक राईको भनाइ छ । धान बालीमा पातको डढुवा रोग सुक्ष्म तत्व र खाद्य तत्वको कमीले देखा पर्दछन् । बराहक्षेत्र नगरपालिका कृषि क्षेत्रको लागि उर्वर भूमि मानिन्छ । यहाँ धान, मकै, गहुँ, कोदो, फापर, आलुलगायत मौसमी र बेमौसमी तरकारी समेत उत्पादन हुने गर्दछ । यस क्षेत्र दूध उत्पादनका लागि समेत प्रख्यात छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *