आइतबार, २६ जेठ २०८२

सुन्तलामा किरैकिरा

अघिल्लो वर्ष सुन्तलाबाट मनग्गे कमाइ गरेका बागलुङ नगरपालिका–१० भकुन्डेका देवीराम थापाका बारीका सुन्तला यति बेलासम्म बिकेको छैनन् । प्रायः सुन्तला नपाक्दै पहेंलिएका छन् । खोल्साएर हेर्दा किरैकिरा छन् ।
बारीभरि झरेका सुन्तला टिपेर खाल्डोमा पुर्नुपर्दा उनी निराश छन् । ‘पहिला डोको लिएर आउनेलाई धमाधम बिक्री गरिन्थ्यो, अहिले दिनदिनै डोकोभरिका सुन्तला खाल्डोमा पुर्नुपरेको छ,’ उनले भने, ‘के रोग आयो, आम्दानी नै सुकाउने भयो ।’
भकुन्डोन मात्र होइन, वडा नम्बर ८ को सिगाना र वडा नम्बर ९ को तित्याङमा पनि उस्तै समस्या छ । अघिल्लो वर्ष सिगानाका किसानले मात्रै २ करोड रुपैयाँभन्दा बढीको सुन्तला बेचेका थिए । ‘सयौं बिरुवा सुन्तला छन्, पहेंलिएर झरेपछि न खेतीपाती भयो, न सुन्तलाबाट कमाइ भयो,’ सिगानाका टोपबहादुर खड्काले भने, ‘यो वर्ष किसानको लगानी मात्र होइन वर्षभर कमाइ खाने बाटो पनि बन्द हुने भयो ।’ सुन्तलाका लागि खड्कासहित यहाँका किसानले सयौं रोपनी धानखेत मासेका थिए । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *