सोमबार, २१ माघ २०८१

कृषि मन्त्रालयद्वारा बीउ बिजन निर्देशिका जारी

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीउबिजन उत्पादन, आपूर्ति तथा व्यवस्थापन निर्देशिका २०७८ कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएर आइसकेपछि त्यसलाई कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा गुणस्तरीय बीउबिजनको उत्पादन, आपूर्ति एवं वितरण प्रणालीलाई सुदृढ बनाउन र बीउ उत्पादक, वितरण तथा प्रयोगकर्ता कृषकलाई प्रदान गर्ने प्रोत्साहन अनुदानलाई पारदर्शी एवं एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्न आवश्यक भएको हुनाले यो निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ ।

स्रोत बीउ र उन्नत बीउको माग, उत्पादन र आपूर्ति गर्नेलाई सरकारले प्रोत्साहन अनुदान दिइने निर्देशिकामा उल्लेख छ । स्रोत बीउ र उन्नत बीउमा उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिइनेछ भने उन्नत बीउको प्रयोगमा कृषकलाई मूल्यमा अनुदान दिइने निर्देशिकामा उल्लेख छ ।
स्रोत बीउ र उन्नत बीउको माग, उत्पादन र आपूर्तिको तथ्याङ्क तयार गरी समग्र बीउ उत्पादन चक्र व्यवस्थापन गर्दै स्वदेशमै उत्पादित बीउबिजनको प्रवद्र्धन गर्ने उद्देश्य निर्देशिकाले लिएको छ ।
साथै बीउ उत्पादक, वितरण तथा प्रयोगकर्ता कृषकलाई तीनै तहका सरकारले प्रदान गर्ने प्रोत्साहन अनुदानलाई सहज, पारदर्शी र एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने बताइएको छ । गुणस्तरीय बीउबिजन उत्पादन, प्रशोधन, बजारीकरण र उपयोगमा सहभागी हुन चाहने सबै कृषक, कृषक समूह, बीउबिजनसँग सम्बन्धित सहकारी संस्था, सामुदायिक बीउ बैङ्क, कम्पनी तथा निजी उद्यमीहरू यस निर्देशिकाबमोजिमको कार्यक्रममा सहभागी हुने निर्देशिकामा उल्लेख छ ।
गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच वृद्धि गरी बीउबिजन आपूर्ति प्रणालीलाई सुदृढ गर्ने निर्देशिकाको उद्देश्य रहेको कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिनुभयो । बीउबिजनको उत्पादन, आपूर्ति तथा वितरण एवं सोका लागि उपलब्ध गराई स्रोत बीउ र उन्नत बीउको तथ्याङ्क र अनुदान वितरणलाई व्यवस्थित राख्नका लागि विद्युतीय बीउबिजन व्यवस्थापन प्रणालीको निर्माण गरिने निर्देशिकामा उल्लेख छ ।

यो प्रणालीको कार्यान्वयन केन्द्र, विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रादेशिक मन्त्रालय एवं सोअन्तर्गतका जिल्लास्थित कार्यालय तथा स्थानीय तहबाट हुने जनाएको छ ।
आफ्नै साधनस्रोत प्रयोग गरी स्रोत बीउ उत्पादन गर्न इजाजत प्राप्त अनुदानग्राहीलाई स्रोत बीउ उत्पादन परिमाणका आधारमा प्रोत्साहन अनुदान उपलब्ध गराउनेछ । त्यसैगरी उन्नत बीउको उत्पादन तथा आपूर्ति सुनिश्चित गर्न प्रादेशिक मन्त्रालय मातहतका जिल्लास्थित कार्यालयबाट उन्नत बीउ उत्पादकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाबमोजिमका कार्यक्रमअन्तर्गत अनुदान प्राप्त गर्ने अनुदानग्राहीले सबै स्तरका बीउबिजन बेचबिखन गर्दा अनिवार्य रूपमा सरकारबाट अनुदानमा उपलब्ध गराइएको बीउबिजनको लेबलसहितको विवरण प्रस्टसँगै देखिने गरी बीउको बोरा वा प्याकेटमा उल्लेख गर्नुपर्नेछ ।
सोत बीउ र उन्नत बीउ उत्पादन नगर्ने आवेदकलाई बाली बीमा गराउन प्रोत्साहित गर्नुका साथै बीउसम्बन्धी कार्यक्रम सञ्चालन भएका स्थानीय तहले सीधै र सम्बन्धित जिल्लास्थित कार्यालयले प्रादेशिक मन्त्रालयमार्फत सञ्चालित कार्यक्रमको प्रगति प्रतिवेदन मासिक एवं वार्षिक रूपमा विभाग हुँदै कृषि मन्त्रालयमा पेस गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *