शनिबार, २५ जेठ २०८२

अझै पाकेन चैते धान

चैते धान काटेर असारे धानको नयाँ रोपो मौलाउने बेलामा पनि धान भर्खर पसाउँदै छ । बीउमा समस्या रहेका कारण यस्तो भएको दाबी किसानको छ तर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) भने अध्ययन गरेर मात्र कारण पत्ता लगाउन सकिने जनाउँछ । काभ्रे मण्डनदेउपुर नगरपालिकाका किसान राजन पौडेलले छिटो पाक्ने र पानी कम भए पनि राम्रो फल्ने जातको धान बीउ बनेपाबाट खरिद गरेर खेतमा लगाएको तर पाँच महिना हुँदा भर्खर दाना लाग्न थालेको बताउनुभयो।

यो मण्डनदेउपुर नगरपालिकाका अधिकांश किसानको समस्या हो । चैत धान काटेर वर्षे धान लगाउने बेला भइसक्दा चैत धान भनेर लगाएको बालीमा भर्खर दाना लाग्न थालेको किसान उद्धव तिमिल्सिनाले भन्नुभयो । उहाँले प्रतिकेजी १३० रुपियाँको दरले २० केजी चैते धानको बीउ खरिद गरेर फागुनको अन्तिममा रोपेको तर अहिले त्यसमा भर्खर दाना लाग्न थालेको बताउँदै पाक्न त अझै डेढदेखि दुई महिना लाग्ने सम्भावना रहेको जनाउनुभयो ।

चैते धान सरदर तीनदेखि चार महिनामा पाक्नुपर्ने हो तर अहिलेसम्म त्यो धानमा कतैकतै फूल र कतैकतै दाना निस्किरहेको छ ।

खुमलटारको एभरेस्ट सिड कम्पनी प्रालीबाट खरिद गरी बनेपाको एउटा बीउ बेच्ने पसलले सो बीउ नगरपालिकामा बेचेको थियो । अहिलेसम्मकै सबभन्दा राम्रो धानको बीउ, छोटो समयमा पाक्ने र पानी कम लाग्ने, उत्पादन पनि धेरै हुने भन्दै पसलेले त्यो बीउ बिक्री गरेको किसान राजन पौडेलले बताउनुभयो । ४० जना किसानले बनेपाका बीउ पसलेलाई गुनासो गर्दा खुमलटारको कम्पनीलाई देखाएर पन्छेको जनाउँदै आफूहरूले क्षतिपूर्ति चाहिने भनेको उल्लेख गर्नुभयो । उद्धव तिमिल्सिनाले आफूहरूलाई एक नभई दुई बालीको नै क्षतिपूर्ति चाहिने बताउनुभयो ।

एभरेस्ट सिड कम्पनी प्रालिका प्रमुख नारायण भण्डारीले आफूहरूले खुमल–११ जातको धान त्यहाँ बेचेको स्वीकार गर्दै भन्नुभयो, “नार्कले नै सिफारिस गरेको धानको बीउ हो । यसलाई सफल बीउ नै मानिन्छ तर त्यहाँ मौसमका कारण समस्या भएको हो ।”

उहाँले ढिलो रोपेका कारण ढिलो दाना लागेको दाबी गर्दै उहाँले नार्कका वैज्ञानिक लगेर त्यसको अध्ययन गराउने तयारी रहेको बताउनुभयो । उहाँले नार्कले नै सिफारिस गरेको धानको बीउ बेचेको दाबी गर्दै यसअघि पनि बेचेको हो तर यस्तो समस्या कहिले नआएको दाबी गर्नुभयो ।

यो वर्ष खुमल–११ जातको धानको बीउ सो नगरपालिकालाई मात्र बेचेको अरू कहीँ नबेचेको दाबी गर्दै प्रमुख भण्डारीले त्यसको छानबिन भएपछि के भएको हो मात्र भन्न सकिने तर प्रारम्भिक नतिजाअनुसार मौसमका कारण समस्या देखिएको दाबी गर्नुभयो ।
बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार खुमल–११ वर्षे धानका लागि २०५८ सालमा सिफारिस भएको जात हो । काठमाडौँ उपत्यकाका लागि सिफारिस गरिएको यो धान १४४ दिनमा पाक्छ । यसले प्रतिहेक्टर ८.५ मेट्रिक टन उत्पादन दिन्छ ।

हालसम्म सिफारिस भएका धानका जातमध्ये यसले नै सबभन्दा बढी उत्पादन दिने गरेको केन्द्रले जनाएको छ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डा. सुशीलराज सुवेदीले खुमल–११ सफल धानमध्येको एक हो भन्दै काभ्रेमा किन समस्या देखियो भन्ने अध्ययनको विषय भएको प्रतिक्रिया दिनुभयो । काभ्रेमा समस्या देखिएको कुरा आफूले एभरेस्ट कम्पनीबाट थाहा पाएको भए पनि अनुसन्धान नगरी त्यत्तिकै केही प्रतिक्रिया दिन नमिल्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *