न्यूनतम मूल्य पाउँदैनन् किसानले

सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यभन्दा कम मूल्यमा दाङका व्यवसायीले खरिद गरिरहेका छन् । घोराही–६ का किसान लबरु चौधरीले मोटो धान रु दुई हजार ३०० क्विन्टलमा बिक्री गर्नुभएको छ । धान खेती गर्ने किसानको मेहनत, मल, बीउमा लगाएको लगानीसमेत नउठ्ने अवस्था रहेको उहाँले गुनासो गर्नुभयो ।
ट्र्याक्टरले खेत जोतेको, थ्रेसरले दाएको पैसा पनि नउठ्ने भयो । “वर्षभरिको खर्च धान बेचेको पैसाले चल्ने गरेको थियो । धानको मूल्य नपाउँदा मेहनत र लगानी सबै खेर गयो”, उहाँले भन्नुभयो । लमही नगरपालिका–३ का किसान रुपनी चौधरीले यसपालि खेती गर्ने समयमा राम्रो पानी परेकाले उत्पादन बढ्ने आशा गर्नुभएको थियो । गत वर्षभन्दा पाँच क्विन्टल धान बढेको पनि थियो । मसिनो धान रु दुई हजार ५०० मा बिक्री गरेको उहाँले बताउनुभयो । सरकारले तोकेको समर्थन मूल्य नपाएको उहाँको गुनासो छ ।
नेपाल सरकारले किसानबाट धान खरिद गर्नको लागि न्यूनतम समर्थन मूल्य तोकेको छ । मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७०० र मध्यम खालको धान रु दुई हजार ९०० प्रतिक्विन्टल खरिद गर्न न्यूनतम समर्थन मूल्य तोकेको छ । स्थानीय व्यवसायीले किसानबाट मोटो धान बढीमा रु दुई हजार ३०० क्वीन्टल र मसिनो धान बढीमा रु दुई हजार ५०० मा खरिद गर्ने काम भइरहेको कक्षपति राइसमिल लमहीका म्यानेजर मदन अधिकारीले बताउनुभयो । पानीबाट बचेको धान मात्रै खरिद गरिरहेको उहाँले जानकारी दिनुभयो।