धान काट्न प्रविधिको प्रयोग बढ्दै
कपिलवस्तुमा अहिले कृषकलाई धानबाली काट्ने चटारो छ । लामो समयदेखि हँसियाले धान काटेर भित्र्याउने किसान अब भने नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन् ।
कम समयमा प्रशस्त क्षेत्रफलको धान काट्न सकिने हुनाले कृषकहरूले कम्बाइन हार्भेस्टरको प्रयोग गर्दै आइरहेका छन् । नयाँ यान्त्रिक प्रविधि कम्बाइन हार्भेस्टरले धान भित्र्याउँदा समय, श्रम र लागतमा बचत हुने भएकाले यसतर्फ किसानहरू आकर्षित भएका हुन् ।
धान काटरने, केलाउने र परालको व्यवस्थापन एकै पटक गर्ने भएकाले यस क्षेत्रमा यो प्रविधिको प्रयोगमा उल्लेखनीय वृद्धि भएको हो । कृषि मजदुरको समस्याबाट पीडित हुने गरेका किसानले समयमा धान भिœयाउन नसक्दा थप नोक्सानी बेहोरिरहेका थिए ।
धान पाकेपछि त्यसको व्यवस्थापनमा ठूलो जनशक्तिको आवश्यकता पर्ने, धेरै समय र लागत लाग्ने तथा कृषि श्रमिकको अभावमा समयमा धान भित्र्याउन नसक्दा गहुँ लगाउनसमेत ढिलो भई त्यसको उत्पादनमा प्रतिकूल प्रभाव पर्ने गर्दथ्यो । अहिले गाउँमै कम्बाइन हार्भेस्टर मेसिन भित्रिएपछि कम लागतमा समयमै कृषि कार्य गर्न सजिलो भएको कपिलवस्तु नगरपालिका–६, थुम्हवाका किसान जनार्दन यादवले बताउनुभयो ।
यो प्रविधिबाट आधाभन्दा कम खर्चमा धान भित्र्याउन सकिन्छ । गत वर्ष करिब तीन बिघा जग्गामा यो मेसिनको प्रयोगले धान भित्र्याउन पाउँदा परम्परागत तरिकाभन्दा झन्डै २५ प्रतिशत लागतमा कमी आएको उहाँको भनाइ छ । परम्परागत तरिकाले धान भित्र्याउँदा प्रतिबिघा १८ देखि २० हजार रुपियाँ खर्च लाग्ने गरेकामा कम्बाइन हार्भेस्टर मेसिनबाट धान भित्र्याउँदा प्रतिबिघा पाँच हजार मात्र खर्च लाग्ने गरेको उहाँले बताउनुभयो ।
पछिल्लो समयमा तराईका जिल्लामा कम्बाइन हार्भेस्टर मेसिन बहुउपयोगी भएपछि यसप्रति कृषकको आकर्षण बढरदै गएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ । अहिले कपिलवस्तु जिल्लामा दुई दर्जनभन्दा बढी कम्बाइन हार्भेस्टर मेसिनको प्रयोग हुने गरेको अनुमान कृषि ज्ञान केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौवेले बताउनुभयो । जिल्लाको कुल ८३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यस वर्ष कपिलवस्तुमा ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।