मंगलबार, २२ माघ २०८१

करोडौंको सुगन्धित तेल थन्कियो

विदेश निर्यात हुनुपर्ने ७० करोड रुपैयाँ बराबरको सुगन्धित तेल स्वदेशमा नै थन्किएको छ । विश्वभर फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) का कारण लामो समयसम्म अन्तर्राष्ट्रिय उडान सुचारु नभएपछि तेस्रो मुलुक निर्यात गर्न तयारी अवस्थामा रहेको सुगन्धित तेल नेपालमा नै थन्किएको हो ।

व्यवसायीहरू सुगन्धित तेललगायत अन्य जडिबुटी निर्यात नहुँदा चिन्तित छन् । कोरोना प्रभावका कारण व्यवसाय पनि ठप्प छ । पछिल्लो समय, फ्रान्स, जर्मनलगायतका तेस्रो मुलुकमा नेपालको सुगन्धित तेलको बजार बिस्तार हुन थालेको थियो । तर, कोरोना कहरसँगै सुगन्धित तेल गोदाममा थन्किएको छ । भदौ १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने भनिए पनि उपत्यकामा संक्रमण बढेसँगै फेरि योजना स्थगित गरिएकाले निकासीको सम्भावना देखिएको छैन । अन्तर्राष्ट्रिय उडान सुचारु भए तेस्रो मुलुक पठाउने व्यवसायीको योजना छ ।

नेपाल जडिबुटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउन नसक्दा निर्यात ठप्प भएको बताए । “हामीसँग तेस्रो मुलुक (युरोप–अमेरिका) पठाउनुपर्ने करिब ७० करोड मूल्य बराबरको सुगन्धित तेल स्देशमा नै रोकिएको छ,” उनले भने, “उडान चार्टर गरेर पठाउन महँगो हुन्छ, नियमित उडान सुचारु भएको छैन, उडान सुचारु हुनेवित्तिकै निर्यातको प्रक्रिया अगाडि बढाउने छौं ।” उनका अनुसार प्रतिकेजी सुगन्धित तेलको बजारमूल्य ५ हजार रुपैयाँसम्म पर्छ । सुगन्धित तेल प्रायः तराईका जिल्लाहरूमा बढी उत्पादन हुन्छ । तेलसँगै हाल ३२० प्रजातिका जडीबुटी व्यापार हुने गरेको संघले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *