कास्कीमा ९७ हजार मेट्रिक टन धान उत्पादन
कास्कीमा यस वर्ष ७९ हजार ४ सय ३७ मेट्रिक टन धान उत्पादन भएको छ । यस वर्ष समयमै वर्षा भएपनि २५ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा मात्र धान खेती गरिएको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक निलकण्ठ पोखेलले बताए ।
उनका अनुसार यस वर्ष कास्कीमा प्रति हेक्टर ३.१ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष कास्कीमा २६ हजार ५० हेक्टरमा धान खेती गर्दा ८० हजार ५ सय ७१ मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।
२०७५ सालमा कास्कीमा २३ हजार २ सय ८६ हेक्टर क्षेत्रफलमा धान खेती गर्दा ८२ हजार ४ सय ४५ मेट्रिकटन धान उत्पादन भएको थियो । लामो समयसम्म वर्षा भएपनि कास्कीमा भने यो वर्ष धान उत्पादन घटेको उनले बताए । गत वर्षको तुलनामा यस वर्ष १ हजार १ सय ३३ हेक्टर कम क्षेत्रफलमा धान लगाउँदा गत वर्षको तुलनामा ४ सय २५ मेट्रिक टन कम धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।
कास्कीसहित गण्डकी प्रदेशमा यस वर्ष ३ लाख ८० हजार २ सय ५९ मेट्रिकटन धान उत्पादन भएको छ । प्रदेशमा १ लाख २३ हजार ५ सय ३१ हेक्टर क्षेत्रफलमा यस वर्ष धान खेती भएको थियो । प्रदेशको धानको उत्पादकत्व भने प्रतिहेक्टर ३.५ मेट्रिकटन रहेको छ ।