मंगलबार, २२ माघ २०८१

कृषि मन्त्रालयले ३ वर्षे रणनीति बनाउँदै

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषिको विकासका लागि सरकारले तीन वर्षे रणनीति बनाएर काम सुरु गरेको बताउनुभएको छ ।

भैरहवामा सोमबार आधुनिक हाटबजारको शिलान्यास गर्दै मन्त्री भुसालले तीन वर्षे रणनीतिअनुसार काम गर्दा कृषि क्षेत्रमा आमूल परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषिको बजेटको ठूलो हिस्सा स्थानीय तहसम्म पठाउने बताउनुभयो । अहिले पौने पाँच अर्ब बजेट तल पठाएका छौँ । एक महिनाभित्र प्रत्येक पालिकामा भण्डारण गर्न मिल्नेगरी गोदाम बनाउन थप एक अर्ब पठाउने तयारी गरेका छौँ, मन्त्री भुसालले भन्नुभयो ।

उहाँले अहिलेसम्मको परिणामले सन्तुष्ट नभएको र अब कृषि मन्त्रालयले राम्रो कामको थालनी गरेको बताउनुभयो । मुलुककै दोस्रो ठूलो नाका, अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीलगायतका कारण भैरहवाको विकासले फड्को मार्नुपर्नेमा तुलनात्मक रूपमा विकास पछाडि परेको उहाँले बताउनुभयो । यस क्षेत्रको बृहत् विकासका लागि योजना बनाएर आउन उहाँले निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

मन्त्री भुसालले अहिले ग्रामीण क्षेत्रको जनशक्तिले विदेशमा श्रम खेर फालिरहेको जिकिर गर्दै कृषिबाट नै विदेशमा जाने जनशक्ति रोक्ने प्रयास थालेको बताउनुभयो । अहिले कृषि मन्त्रालय पाँचवटा नीतिगत योजनाका साथ अगाडि बढेको पनि मन्त्री भुसालले जानकारी दिनुभयो । कृषि उपज खरिद, यसको भण्डारणलगायतमा लगानी गरिने बताउँदै मन्त्री भुसालले यो वर्ष करिब दुई लाख मेट्रिक टन भण्डारण गर्नसक्ने गरी तयारी गरेको बताउनुभयो ।

स्थानीय सरकारलाई बलियो बनाएर मल वितरण, कृषि उपज सङ्कलनलगायतको काम गर्नसक्ने गरी तयारी गरिएको पनि उहाँले बताउनुभयो । कृषि बजारलाई आधुनिकीकरण गर्ने उद्देश्यसहित भैरहवामा निर्माण हुने आधुनिक कृषि भवनले कृषिको विकासमा मद्दत पुग्ने उहाँले बताउनुभयो ।

सामुदायिक पूर्वाधार विकास आयोजनाअन्तर्गत भैरहवामा रहेको हाटबजार लाग्ने ठाउँमा ब्लक बीअन्तर्गत आधुनिक भवन निर्माण सुरु भएको हो । २४ करोड २७ लाख ४८ हजार ४४९ रुपियाँ लागत अनुमान गरिएको भवन निर्माण गर्न विकास एन्ड ब्रदर्स आत्रेय र बस्नेत जेभी सिनामङ्गलले ठेक्का पाएको छ ।
२०७९ साल असार १६ सम्मको म्यादभित्र निर्माण हुने छ तले भवनमा चिस्यान केन्द्रदेखि आधुनिक कृषि बजार, रेस्टुरेन्ट, सिनेमा हललगायतको सुविधा रहने सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो । सिद्धार्थनगर नगरपालिका–१३ मा यसअघि नै करिब १३ करोड रुपियाँको लागतमा कृषि बजार निर्माणाधीन रहेको छ ।
मन्त्री भुसालले सोमबारै निर्माणाधीन बेलबास बेथरी सडकको पनि अवलोकन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *