मंगलबार, २२ माघ २०८१

बासमती धानमा नेपालको दाबी

नेपाल सरकारले बासमती धानको भौगोलिक संकेतमा आफ्नो पनि दाबी पेश गर्ने भएको छ । भारतले बासमती धानको भौगोलिक संकेत अधिकार स्थापित गर्न युरोपेली संघमा निवेदन पेश गरेपछि नेपाल सरकारले यसमा प्रतिवाद गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दावी पेश गर्ने निर्णय गरेको जनाइएको छ ।

बासमती धान परापूर्वकालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन भएर विदेशमा समेत निर्यात हुने गरेकाले यसमा नेपालको समेत हक स्थापित हुनुपर्ने सरकारको मत छ । कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार यससम्बन्धी निर्णय भइसकेको छ । यस प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रमार्फत तोकिएको म्यादमा दावी विरोध गर्ने निर्णयअनुसार नेपालका तर्फबाट केन्द्रले आधिकारिक दाबी पेश गर्ने निर्णय भएको छ ।

नेपालले बुधबारसम्म दाबी पेश गर्ने जनाइएको छ । नार्कका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीका अनुसार उद्योग मन्त्रालयसँग सहकायए गरेर आवश्यक कागजात तयार भएको छ । जसको मस्यौदा तयार भइसकेको र कानुन व्यवसायीलाई देखाएर अन्तिम रुप दिइनेछ । नार्कले सन् १९६० मा बासमती चामलसम्बन्धी आफैं अनुसन्धान गरेको थियो । नेपालले डिसेम्बर ११ सम्ममा यसविरुद्ध आफ्नो दाबी पेश गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *