धूलो दुध प्रयोग गर्न पोल्ट्री व्यवसायीहरुलाई आग्रह

पोल्ट्री व्यवसायमा स्वदेशी धुलो दूध (स्किम मिल्क पाउडर) प्रयोग गर्न डेरी उद्योगीले आग्रह गरेका छन ।
डेरी उद्योगसँग पर्याप्त मात्रामा धुलो दूध मौज्दात रहेकाले पोल्ट्री व्यवसायीलाई प्रयोग गर्न आग्रह गरेका हुन् । पोल्ट्रीको भ्याक्सीनेसनको लागि आवश्यक हुने गुणस्तरीय स्वदेशी धुलो दूध प्रयाप्त रहेकाले प्रयोग गर्न डेरी उद्योग संघले अनुरोध गरेको हो ।
पोल्ट्री व्यवसायमा प्रयोग गर्न सहज हुने गरी १–१ केजीको प्याकेट दूध उपलव्ध हुने भन्दै संघले सबै पोल्ट्री उद्योगलाई प्रयोग गर्न आग्रह गरेको छ । संघका अध्यक्ष राजकुमार दाहालले पर्याप्त मात्रामा धुलो दूध मौज्दात रहेकाले पोल्ट्री उद्योगलाई प्रयोग गर्न अनुरोध गरेको बताए । धुलो दूध प्रयोग गर्ने विषयमा व्यवसायी सहमत भएको र प्रतिकेजी भ्याटसहित ६ सय रुपैयाँमा उपलव्ध गराइने उनले जानकारी दिए ।
“बाहिरबाट कमसल पाउडर दूध आयात गरेर पोल्ट्री व्यवसायमा प्रयोग भइरहेको छ” उनले भने, “स्वदेशमै गुणस्तरयुक्त धुलो दूध पर्याप्त रहेकाले यसको आयातमा प्रतिबन्ध लगाउनुपर्छ ।” डेरी उद्योग संघसँग २५ सय मेट्रिक टन र दुग्ध विकास संस्थान (डिडिस)सँग १५ सय मेट्रिक टन धुलो दूध मौज्दात रहेको उनको भनाइ छ । कोरोना भाइरसको कारणले गत वर्ष दूध बिक्री नभएपछि उद्योगीले धुलो दूधको पाउडर बनाएका थिए । यो वर्ष पनि दूधको खपत ६० प्रतिशतले घटेको उद्योगीको भनाइ छ ।
नेपाल पोल्ट्री महासंघले पनि कुखुरा उत्पादनमा स्वदेशमै उत्पादन भएको धुलो दूध (एसएमपी) प्रयोग गर्न आग्रह गरेको छ । महासंघले कोरोनाका कारण ठूलो मात्रामा धुलो दूध स्टकमा रहेकाले स्वदेशी उत्पादन प्रयोग गर्न आग्रह गरेको हो ।