मल्चिंग प्रविधि अपनाउँदै कृषकहरु
वराहक्षेत्र नगरपालिका–९ का ५७ वर्षीय सत्यनारायण चौधरी सात वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ । गाउँघरमा कृषि कामदार नपाउँदा चौधरीले प्रविधिको प्रयोग गरेर मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । चौधरी गाउँमा प्रविधिको प्रयोग गर्ने प्रतिनिधि किसान हुनुहुन्छ ।
वराहक्षेत्र–९ का अधिकतर किसानले प्रविधिको प्रयोग गर्न थालेका छन् । उहाँहरूले तरकारी खेतीमा मल्चिङ प्रविधिको प्रयोग गरेर तरकारी खेती गर्दै आउनुभएको छ । उमेर पुगेका युवा वैदेशिक रोजगारीमा गएसँगै कृषिमा काम गर्ने मान्छे नहँुदा किसानले कृषिमा प्रविधिको प्रयोग गर्न थाल्नुभएको हो ।
गाउँमा भएका अरू युवा कृषिभन्दा बाहिरी काममा छन् । कृषि कामदार नै पाउन छाडियो, वराहक्षेत्र–९ का कृषक जङ्गली कविरथले सुनाउनुभयो । उहाँ नौ वर्षदेखि तरकारी खेती गर्दै आएका अगुवा कृषक हुनुहुन्छ । उहाँले बेमौसमी साग, करेला, बोडी, रैथाने लट्टेको खेती गर्दै आउनुभएको छ । वराहक्षेत्र–९ कै २९ वर्षीय दिलीप कविरथले मौसमी र बेमौसमी जातका तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले बोडी, रामतोरिया, करेला, गोलभेँडा सात कट्ठा क्षेत्रफलमा खेती गर्दै आउनुभएको छ । पहिला कृषि कामदार पाइन्थ्यो र बिरुवालाई गोडमेल गर्न जन (कामदार) नै लगाउँथे अहिले जन पनि पाउँदैन । जन नपाउँदा मल्चिङ प्रविधिको प्रयोग गरेर तरकारी खेती गर्दै आएको उहाँले बताउनुभयो ।
दुई वर्षदेखि मल्चिङ प्रविधिको प्रयोगबाट तरकारी खेती गर्दै आउनुभएका चौधरीले भन्नुभयो, “यो प्रविधिबाट प्रयोग गरेर तरकारी खेती गर्दा गोड्नु नपर्ने, लगाएको मल बिरुवाले मात्रै पाउने हुँदा प्रविधिको प्रयोगले आम्दानीमा वृद्धि भएको छ ।” मौसमी र बेमौसमी तरकारी खेतीका लागि गाउँमा मल्चिङ प्रविधिको प्रयोग बढ्दै गएको छ ।
प्लास्टिक मल्चिङ ड्याङमा लगाएर उन्नत तरिकाबाट खेती गर्दा फाइदा हुन्छ । “मेरो जागिर र आम्दानी भनेकै तरकारी खेती हो भनेर लागेँ, तरकारी खेतीमा निकै फाइदा हुन्छ,” कृषक कविरथले भन्नुभयो । वार्षिक खर्च कटाएर एक लाख ५० हजार रुपियाँदेखि दुई लाख रुपियाँसम्म आम्दानी तरकारी खेतीबाटै गर्दै आएको कृषक दिलीपले बताउनुभयो । स्थानीय पाच्चु कविरथले मल्चिङ ड्याङ लगाएर तीन कट्ठामा खुर्सानी रोप्नुभएको छ । उहाँले मल्चिङ लगाएर तरकारी खेती गरेको एक वर्ष बढी भएको छ । एक पटक मल्चिङ लगाएपछि एक सिजनको तरकारी उत्पादन हुँदासम्म गोडमेल गर्ने झन्झट हुँदैन ।