शुक्रबार, १६ चैत्र २०८०

बसन्ते मकैमा फौजी कीरा

Share via:

जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजीकिराको प्रकोप देखापरेको छ । रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकामा लगाइएको मकैमा फौजीकिराको प्रकोप देखिएको हो । कृषि ज्ञानकेन्द्र भरतपुरका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार जिल्लामा लगाइएको वसन्ते मकैमा फौजी किराको प्रकोप देखिएको हो । उनकाअनुसार अहिले ५० बिघा क्षेत्रफलमा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको छ ।

जिल्लामा १४ हजार ३०० हेक्टरमा वसन्ते मकै लगाइने गरिएको छ । गत वर्ष ५१ हजार ५१ मेट्रिकटन मकै उत्पादन भएको थियो । यस्तै बर्से छ हजार ७३ हेक्टरमा र हिउँदे चार हजार ९८५ हेक्टरमा मकै लगाइने गरेको उनले  जानकारी दिइन् । विशेषगरी यो किराले मकैको बिरुवा चारदेखि पाँच पाते हुन लागेपछि आक्रमण गर्ने गर्दछ । सो समयमा फौजी किराको माउले फुल पार्ने र त्यो फुल लार्भा हुँदै विकसित भई मकैको पात खाने गर्दछ । ठूलो भएपछि गुभो खाने गरेको क्षेत्रीले बताइन् । सन् २०१९ मा नेपालमा पहिलो पटक देखिएको यो किरा विषादी पचाउन सक्ने भएकाले कृषकले मकै बारीमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

किराको प्रकोप देखिएमा प्राविधिकको सल्लाहबमोजिम विषादी छर्कनुपर्ने उनले बताइन् । बिहान ११ः०० बजेदेखि बेलुका ३ः०० बजेसम्म मात्रै विषादी छर्नुपर्ने विज्ञहरुको सुझाब छ । मकैको पातमा लार्भाले क्षति गरेको प्वाल तथा गुभोमा क्षतिको लक्षण देखा परेमा अनिवार्य रुपमा सुरक्षित भई विषादीको प्रयोग गर्न सकेमा प्रकोप नियन्त्रण गर्न उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित