बिहिबार, १५ चैत्र २०८०

अण्डाको मूल्यमा वृद्धि

Share via:

पछिल्लो समय अण्डाको मूल्य बढेको छ। प्रतिक्यारेट ३० रूपैयाँले बढेको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए। पछिल्लो समय उत्पादन कम भई माग बढेकाले अण्डाको मूल्य बढ्न गएको उनी बताउँछन्। 

‘कोरोनाका कारण बीचमा कुखुराको मासुको अभाव हुँदा लेयर्स (अण्डा दिने) कुखुरा पनि मासुमा बेचिएको थियो, त्यसले उत्पादनमा कमी ल्यायो,’ उनले भने।  

उनका अनुसार कोरोना भाइरस फैलिनुभन्दा अघि दैनिक ३२ देखि ३३ लाख अण्डा उत्पादन हुन्थ्यो,  संक्रमण फैलिएपछि अण्डाको उत्पादन दैनिक २७ देखि २८ लाखमा झरेको छ। 

चितवनमा किसानहरूले  मध्यम साइजको अण्डा प्रतिक्यारेट ३ सय ४० रूपैयाँ र ठूलो साइजको प्रतिक्यारेट ३ सय ७० रूपैयाँ पाइरहेको उनले बताए। 

बजारमा यो मूल्य कायम भएको एकसाता भयो। यसअघि मध्यम साइजको अण्डाको मूल्य ३ सय १० थियो भने ठूलो साइजको ३ सय ४० रूपैयाँ थियो। 

उनका अनुसार ४५ ग्राम भन्दा माथिको मध्यम अन्तर्गत पर्छ भने ५५ ग्राम भन्दा माथिको अण्डा ठूलो साइजमा पर्दछ। 

गत वर्ष कोरोना संक्रमणको बेला पनि अण्डाको मूल्य बढेको थियो। अण्डाले रोग प्रतिरोधात्मक क्षमता बढ्ने भन्दै डाक्टरले अण्डा खान सुझाएपछि एकाएक व्यापारीले अण्डाको मूल्य बढाएका थिए। 

संक्रमणको सुरूआतमा प्रतिक्यारेट २ सय ८० देखि ३ सय रूपैयाँमा पाइरहेको अण्डा बीचमा ४ सय देखि ४ सय ५० सम्म तिरेर उपभोक्ता खान बाध्य थिए। 

अहिले पनि दोस्रो लहरको कोरोना फैलिएसँगै अण्डाको मूल्य बढेको छ। 

अण्डाको मूल्य बढेसँगै अब उपभोक्ताले ठूलो साइजको अण्डा प्रति क्यारेट ४ सय ३० रूपैयाँ तिर्नुपर्ने छ। 

किराना व्यवसायी चन्द्र थापाका अनुसार प्रतिक्यारेट ठूलो साइजको ४ सय ३० र 
मध्यम साइजको अण्डा ३ सय ८० देखि ४ सयमा बिक्री गरिएको छ। 

‘पहिले सबै साइजका अण्डा ३ सय ५० दे ३ सय ८० बेच्दै आएका थियौं,’ उनले भने, ‘खुद्रा प्रतिवटा १५ रूपैयाँले दिएका छौं।’

संक्रमको बेलामा अण्डा लगायत कुनै पनि अत्यावश्यक वस्तुको मूल्य बढाउन नहुने उनको भनाइ छ। 

चितवन, झापा, मोरङ, सुनसरी दाङ तथा मकवानपुरमा अण्डा बढी उत्पादन गरेको छ। जसमध्ये काठमाडौं उपत्यकामा चितवनबाट धेरै अण्डा आउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित