अनुमति नपाएको धानको बीउ बरामद

सरकारले अनुमति नै नदिएको धानको बीउ जिल्लाका विभिन्न एग्रोभेटमा बिक्री वितरण भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट-सुस्तापूर्वको संयोजनमा कृषि ज्ञान केन्द्रले गरेको अनुगमनका क्रममा देवचुली नगरपालिकास्थित रजहरमा अवैध धानको बीउ बिक्री वितरण भएको पाइएको हो ।
कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत मीरा चौधरीले रजहरको चौधरी एग्रो सेन्टर र मगल भेट फर्माबाट अवैध रुपमा बिक्री भइरहेको ३२० किलो धानको बीउ बरामद गरिएको बताए । चौधरीका अनुसार अनुगमन टोलीले ती पसलबाट बिपिटी ५२०४ जातको धानको बीउ ८० किलो र सुपर सोना काभेरी जातको धानको बीउ २४० किलो बरामद गरेको छ ।
सरकारले अनुमति नै नदिएको धानको बीउ बिक्री गर्ने एग्रोभेटलाई आफूहरुले सचेत बनाएर छोडेर चौधरीले बताए । कृषकले धानको बीउ राख्ने समय भएको र गत वर्ष किसान ठगिएका कारण यस पटक त्यस्तो हुन नदिन र कालोबजारी रोक्न अनुगमन गरिएको बाली संरक्षण अधिकृत चौधरीले जानकारी दिए ।
जिल्लाका तीनवटा कृषि सहकारीले बीउ परीक्षण गरेर आधिकारिक रुपमा किसानलाई उपलब्ध गराइरहेका भन्दै चौधरीले सोही स्थानबाट खरीद गर्न किसानलाई आग्रह गरे ।
अनुगमनका क्रममा अधिकांश एग्रोभेटले बिक्री गर्ने विषादी र कुखुराका दाना तथा औषधि एकै ठाउँमा राख्ने गरेको, विषादी बिक्री वितरणको अनुमतिपत्र नवीकरण नगरेको, म्याद सकिएका विषादी तथा सामग्री राख्ने छुट्टै ठाउँ नबनाएको भेटिएको चौधरीले बताए ।