सोमबार, ०५ फाल्गुण २०८१

नेता बामदेव गौतमकि बहिनीको कृषि कर्म मोह

राजनीति गरेरै ७० वर्ष उमेर पार गरेका बामदेव गौतम अहिले एमाले एकताको पहल गर्छु भनेर बसेका छन् । उपप्रधानमन्त्री भइसकेका गौतम एमालेको उपाध्यक्ष हुन् भने उनकी श्रीमती तुलसा गौतम अहिले समानुपातिक सांसद छिन् । उनकी बहिनी माया गौतम केसी पनि कुनै समय बामदेव गौतम संगै भुमिगत राजनीतिमा सक्रिय थिइन् । पञ्चायतकालमा कम्युनिष्ट जोगाउन भुमिगत राजनीति सुरु गरेकी मायाले अन्य नेताहरुले झैं ०४६ को परिवर्तनपछि राजनीतिलाई नै करिअर बनाउन सकिनन् । अहिले उनी अन्यको जग्गा भाडामा लिएर खेतीपाती गर्दै आएकी छिन् ।

मायाकै भनाई अनुसार उनी बाल्यकालदेखि नै प्रकृतिप्रेमी थिइन् । उनलाई प्रकृतिसँग रमाउन मन पथ्र्याे । कम्युनिष्ट पार्टीमा लागेर भूमिगत राजनीति गरेकी मायाको अखिल नेपाल किसान महासंघ स्थापना गर्नमा अहं भुमिका छ । प्रङ्गारिक कृषि उत्पादन अभियान नेपाल, राष्ट्रिय महिला किसान सन्जाल नेपाल र प्राकृतिक मानव केन्द्रित अभियानको समेत नेतृत्व गरेकी छिन् । भूमिगत राजनीतिकै क्रममा २०३९ सालमा पार्टीका शीर्ष नेताहरुको सल्लाहमा अन्तरजातिय विवाह गरेकी गरिन् ।

‘म ब्राह्राणकी छोरी । श्रीमान क्षेत्री थिए । त्यही कारण परिवारले हाम्रो सम्बन्धलाई स्वीकारेन ।’ उनले भनिन् ‘पार्टीले विवाह त गरिदिए अन्तरजातीय भएकाले श्रीमानको घरपरिवारबाट साथ सहयोग केही पनि पाइनँ ।’ तीन सन्तान जन्माएकी माया बडो कष्टका साथ सन्तान हुर्काएको बताउछिन् । प्युठानमा जन्मिएकी मायाले कास्कीका युवासंग विवाह गरेकी थिइन् । सन्तानको आमा भइसक्दा समेत घरपरिवारले बेवास्ता गरेपछि निकै सास्ती भोगिन् । धन्न माइतीले साथ दिएकाले केही सहज भयो ।

तीन सन्तानको पालन पोषण गर्नुपर्ने वाध्यता, घरपरिवारको बेवास्ता । उनको स्थितीवारे जानकार थिए उनका बुबा । छोरीको दुःख सहन नसकेर उनका बुवाले ०४५ सालमा भात खाने खेत बेचेर ५० हजार रुपैयाँ दिए । बुबाले ५० हजार दिएपछि श्रीमानको घर छोडेर पोखरामा कोठा भाडा लिएर बस्न थालिन् । राजनीति गर्दाताकका उनका साथीभाइहरु सम्पर्कमै थिए । बुबाले दिएको ५० हजार लगानी गरेर पोखरामा जमिन भाडामा लिएर कृषि व्यवसाय सुरु गरिन् ।

सुरुमा ३ हजार कुखुराबाट कृषि व्यवसाय सुरु गरेकी थिइन् । कुखुराबाट ठिकै भैरहेको थियो । गाई पालन गरिन् र गाईबाट राम्रो आम्दानी भएपछि तरकारी खेती सुरु गरिन् । व्यवसाय संगै राजनीतिक यात्रा पनि जारी थियो । बालबच्चा हुर्कदै थिए । कृषि व्यवसाय फष्टाउदो । एकखालको रमाईलो थियो । २०५८ सालमा निकै बिरामी परिन् । उनको भनाई अनुसार उनी यस्तो विरामी परिन् झण्डैले मरिनन् । त्यो आपतको वेला पोखराका उद्योगपति हरि पाण्डेले गरेको सहयोग कहिल्यै बिर्सन्नन् । ‘म बिरामी भएर इन्तु न चिन्तु थिएँ हरि पाण्डेले दिल्लीबाट औषधी किनेर ल्याएर दिनु भयो ।’ उनले भनिन् ।

अरुलाई दुःख सुखमा जीवनसाथीले साथ दिएको देखेकी माया आफ्नो श्रीमानबाट भने कहिल्यै माया नपाएको बताउछिन् । ‘म बिरामी भएर नाजुक अवस्थामा थिएँ । कृषि व्यवसाय पनि गतिलो थिएन । पैसा पनि सकिसकेको थियो । त्यो अवस्थामा श्रीमानले म र छोरा छोरीलाई छाडेर रातको ११ बजे घर छोडेर गए ।’ आफ्नो पीडा सुनाउदै भनिन् ‘मेरा लोग्ने असाध्यै निष्ठुरी थिए हरि पाण्डे दाइले ल्याइदिनु भएको मेरो औषधी समेत मलाई खान नदिएर गाई मल खाल्डोमा फालिदिन्थे ।’

रातको ११ बजे निस्केर हिँडेको मान्छे १५/१६ दिन सम्म घर फर्केनन् । उनी श्रीमानको खोजीमा जुटिन् । ठुली छोरीले एसएलसी उत्तीर्ण गरिसकेकी थिइन् भने अरु दुइटा सानै थिए । श्रीमान बेपत्ता भएपछि तनाव झन बढ्यो । माया भन्छिन् ‘ खोज्दा खोज्दै छ महिनापछि काभ्रे भेट्यौं ।’ भेटेपछि घरमा ल्याउन निकै प्रयाश गरेपनि नसकेर यत्तिकै छाडिदिएको उनको भनाई छ । यो समाचार राजधानी दैनिकका लागि कौशिला कुँवरले लेखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित