जुम्लाबाट २ टन अर्गानिक स्याउ निर्यात
स्याउ निर्यात खुल्ला गरेसँगै जुम्लाबाट करिब दुई हजार टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ ।
विशेषगरी भदौको दोस्रो सातादेखि स्याउ निर्यात धमाधम रुपमा सुरु भएको हो । कृषि विकास कार्यालय जुम्लाले सूचना जारी गरी भदौ १० गतेपछि मात्रै स्याउ टिप्न र निर्यात गर्न खुला गरेको थियो । स्याउ निर्यातको समय खुला गरेपछि मात्रै हालसम्म २ हजार टन भन्दा बढी स्याउ जुम्लाबाट निर्यात भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए ।
उनका अनुसार जुम्लाका किसान तथा स्याउ व्यापारीले स्थानीय तहबाट सिफारिस लिएर सुर्खेत, नेपालगञ्ज, काठण्माडौंलगायतका शहरमा निर्यात गरिरहेका छन् ।
हाल जुम्लामा ए, बी र सी ग्रेडमा स्याउ छुटाइएको छ । बाहिरी बजारमा ए र बी ग्रेडको स्याउ मात्रै निर्यात गरिएको कार्यालय प्रमुख देवकोटाले जानकारी दिए । सी ग्रेडको स्याउ प्रशोधन केन्द्रमा बिक्रीका लागि राखिएको छ । जुम्लामा यस वर्ष पनि १६ करोड बराबरकै स्याउ उत्पादन हुने अनुमान गरिएको छ ।
त्यस्तै जुम्ली स्याउको पहिचान जोगाउन तथा बजार प्रर्वद्धनका लागि जुम्ला अर्गानिक एप्पल लेखिएको ३१ हजार ८ सय बढी स्याउका कार्टुन किसानलाई वितरण गरिएको छ । जसमा, स्याउ सुपोरजन कार्यालयले १० हजार ८ सय र कृषि विकास कार्यालयले २१ हजार कार्टुन वितरण गरेको हो । किसानलाई ५० प्रतिशत अनुदानमा कार्टुन उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
कार्यालयमा सूचीकृत भएको ५ सय १६ उद्योगी, कृषिफर्म तथा सहकारी कृषक समूहहरुले अनुदानमा कार्टुन पाएका हुन् । विदेशी स्याउले जुम्ली स्याउको पहिचान खतरामा परेकोले केही वर्ष अघिदेखि जुम्ली अर्गानिक स्याउ अंकित कार्टुन ल्याउन थालिएको हो । जिल्लामा १५ हजार स्याउ बगैंचा भएको तथ्यांक छ । जिल्लाको कूल १८ हजार घरधुरीमध्ये करिब १५ हजार घरमा स्याउ बगैंचा स्थापना रहेका छन् ।