पुष्प खेतीमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड

अर्थमन्त्री जनार्दन शर्माले पुष्प खेतीमा मुलुकलाई आत्मनिर्भर बनाउन आग्रह गरेका छन् ।
शुक्रबार ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै उनले पुष्प व्यवसाय उत्पादनको क्षेत्रमा महत्वपूर्ण रहेको बताएका हुन् । ‘देशको अर्थतन्त्रमा टेवा पु¥याउने, व्यापार घाटामा योगदान गर्ने र देशलाई आत्मनिर्भर बनाउने अर्थमा पुष्प खेतीको अत्यन्त महत्व छ’, उनले भने, ‘यसलाई बढी आम्दानी हुन सक्ने नगदे बाली वा खेतीको रूपमा यसलाई लिनुपर्छ, लिइरहेका छौँ ।’
फूलमा मुलुक आत्मनिर्भर उन्मुख भएको बताउँदै मन्त्री शर्माले अर्को वर्षदेखि आयात नगर्नुपर्ने गरी संकल्प गरेर अगाडि बढ्न आग्रह पनि गरे । उनले केही प्रतिशत अन्य मुलुकबाट बर्सेनि फूल भित्रिरहेकाले आगामी वर्षदेखि आत्मनिर्भर हुने गरी पुष्प कृषक, व्यवसायी तथा सरोकारवालालाई संकल्प गर्न आग्रह गरेका हुन् ।
मन्त्री शर्माले फूल नेपालीको संस्कृतिसँग पनि जोडिएकाले निकै महत्वपूर्ण रहेको भन्दै कतिपय समाजमा फूलको सम्बन्ध व्यवसायसँग मात्र होला तर हाम्रो समाजमा यो व्यवसायसँग मात्रै छैन, हाम्रो संस्कृतिसँग पनि यसको सम्बन्ध रहेको बताए ।
फ्लोरिकल्चर एशोसिएसनले बर्षेनी प्रदर्शन आयोजना गर्दै आएको गोदावरी पुष्प प्रदर्शनी यस वर्ष शुक्रबारबाट सोमबारसम्म चल्ने बताइएको छ । प्रदर्शनीमा गोदावरी पुष्पसँगै विश्वभर चलेका फुलहरू, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत राखिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले बताए ।