वर्षेनी १६ अर्ब बढीको फलफूल आयात
गत आर्थिक वर्ष २०७९/८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आवमा १६ अर्ब ८ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ । रकमका आधारमा धेरै आयात हुने फलफूलमा स्याउ, अंगुर र केरा पर्छन् । जसमध्ये ७ अर्ब ९ करोडको स्याउ मात्रै आयात भएको छ । त्यसबाट सरकारले ८६ करोड ८३ लाख ८९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।
सार्वजनिक विवरणानुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ । चीनबाट मात्र ५ अर्ब १५ करोड ५८ लाख ४५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट १ अर्ब ९३ करोड ८ लाखको, अमेरिकाबाट ५० लाख ३४ हजार, स्वीजरल्याण्डबाट २७ लाख २० हजार मूल्य बराबरको स्याउ आयात भएको विवरण छ ।
त्यस्तै २ अर्ब १५ करोड ८८ लाख ७६ हजार मूल्य बराबरका ताजा अंगुर आयात भएको छ । त्यसबाट सरकारले ११ करोड १ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन गरेकोे छ । ताजा अंगुर सबैभन्दा धेरै भारतबाट २ अर्ब १३ करोड ७६ लाख ६५ हजार बराबर तथा चीनबाट २ करोड १२ लाखको आयात भएको छ ।
गत आवमा १ अर्ब ६२ करोड ७३ लाख ९९ हजार बराबरको केरा आयात भएको छ । जसमध्ये अधिकांश भारतबाट आयात भएको छ । त्यसबापत सरकारले २९ करोड ४३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ । विभागका अनुसार गत आवमा अनार आयातमा ९३ करोड ४९ लाख ३५ हजार रकम बाहिरिएको छ । जसबाट सरकारले ९ करोड ४९ लाख ९० हजार राजस्व उठाएको छ ।
सार्वजनिक विवरणानुसार गत आवमा ८८ करोड १८ लाख ८४ हजार बराबरको सुन्तला आयात भएको छ । त्यस्तै अम्बा तथा आँप आयातमा ७० करोड २ लाख बाहिरिएको छ ।खरबुजा आयातका लागि ६८ करोड ९५ लाख ४० हजार बराबर रकम बाहिरिएको छ । नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार गत आवमा मेवाको आयात मूल्य ३० करोड ९० लाख ८१ हजार बराबर छ । यस अवधिमा १३ करोड ६२ लाख ५८ हजार बराबरको भुइँकटहर आयात भएको छ ।