बिहिबार, ०६ बैसाख २०८१
Share via:

उदयपुरको बेलका नगरपालिका २ कोसी टप्पुमा उत्पादित तरकारी तेस्रो मुलुक निर्यात हुन थालेको छ । झन्डै ६ महिनायता देखि तितेकरेला खाडी मुलुक कतारमा निर्यात हुन थालेको हो । स्थानीय ब्लाक डायमन्ड अर्गानिक कृषि फार्मबाट तितेकरेला खाडीमुलुक निर्यात हुँदै आएको छ । ब्लाक डायमन्ड अर्गानिक प्रालिले कोसी टप्पु क्षेत्रमा उत्पादन गरेको तितेकरेला कतार निर्यात गरिरहेको छ । कम्पनीले यसअघि पनि किसानसँग खरिद गरेर हरियो तरकारी विदेश निर्यात गर्दै आएको थियो । कोसी टप्पु क्षेत्रमा भने आफैं खेती गरेको तितेकरेला कतार पठाउन थालेको निर्देशक नारायाण कार्कीले बताए ।

‘कम्पनीले २ लटमा १४० कार्टुन तितेकरेला कतार निर्यात गरेको छ,’ निर्देशक कार्कीले भने । तेस्रो लट तितेकरेला यसै साता कतार पठाउँदै छ । प्रालि आफैंले अहिले छ बिघा क्षेत्रफलमा तितेकरेला उत्पादन गरिरहेको छ । त्यसका लागि ५० जना मजदुरले काम गरिरहेका छन् । यसअघि २५० बिघा क्षेत्रफलमा लौका, भिन्डी, घिरौंला, भान्टा, फर्सी, चुकुनी, हरियो खुर्सानी, मकैलगायत उत्पादनका लागि नर्सरी व्यवस्थापन गरेको थियो । जग्गाको सीमा विवादका कारण नर्सरी व्यवस्थापन गर्न नसकेको निर्देशक कार्कीले बताए ।

‘अहिले जग्गा विवाद सकिएको छ,’ कार्कीले भने, ‘अब कम्पनीले त्यो जग्गामा गाँजर, मुला, काउली, ब्रोकाउली, भेंडेखुर्सानी, ओला, पिँडालु र विभिन्न १० किसिमका सिमी, हरियो धनियाँ, लसुन, प्याज, काँक्रा उत्पादनको तयारी भइरहेको छ ।’ यहाँ कम्पनी र कृषि समूहले उत्पादन गरेको हरियो तरकारी तेस्रो मुलुक निर्यात गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित