दिउँसोमा बाँदर रातीमा बँदेलको त्रास
बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जंगली जनावरले आतंक मच्चाएका छन् । विगतका वर्षमा जस्तै बैतडी, दार्चुला, डडेल्धुरा, बझाङलगायतका पहाडी जिल्लामा जंगली जनावरले आतंक मच्चाएका हुन् ।
दिउँसोमा बाँदर र राति बँदेल, दुम्सीलगायतका जंगली जनावरले अन्नबाली र तरकारी नष्ट गर्दा किसान आतंकित भएका छन् । जंगली जनावर धपाउन रातदिन जाग्राम बस्नुपरेको स्थानीय दोगडाकेदार–७ चडेपानीका केशब भट्टले बताउनुभयो । उहाँले भन्नुभयो–‘रातभर जाग्राम बसे पनि जंगली जनावरले मकैबालीमा व्यापक क्षति पुर्याएको छ ।’
अर्का स्थानीय प्रकाश चन्दका अनुसार जंगली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ । बंदेलले मकैबाली नष्ट गरेपछि भोकमरी हुने चिन्ता बढेको छ ।
मकैबाली जोगाउनकै लागि बाजा बजाउने गरेको सुर्नया गाउँपालिका–७ का केशव बिसी बताउनुभयो । उहा“ले भन्नुभयो–‘ विभिन्न रोग किराबाट बचाएर पसाउन लागेको मकैबाली जंगली जनावरले नष्ट पार्ने गरेको छ ।’
जंगली जनावरले किसानको अन्नबाली तथा तरकारीमा नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित छन् । त्यस्तै दार्चुलाको शैल्यशिखरमा पनि जंगली जनावरले आतंक मच्चाउन थालेको स्थानीय गंगासागर जोशीले बताउनुभयो ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–३ सतिगाउँमा पनि बँदेलले मकैबाली सखाप पारेको किसानले बताएका छन् । मकैबाली जोगाउनका लागि रातभर बारीमै पहरा दिने गरिएको भागेश्वरबाट अशोक भट्टले जानकारी दिनभयो । उहाँले भन्नुभयो–‘अन्नबाली र तरकारीमा जंगली जनावरले वर्षेनी क्षति पु¥याउँदै आएको भए पनि स्थानीय तहले कुनै पहल गरेका छैनन् ।’ फौजी किरा र फेदकटुवा किराबाट बचेका अन्नबाली बँदेललगायतका जंगली जनावरले खाइदिँदा भोकमरी हुने चिन्तामा किसान छन् ।
प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि राहत तथा क्षतिपूर्ति पाउन नसकेको किसानले बताएका छन् । खास गरेर बर्खेबालीमा बँदेल, दुम्सीलगायतका जंगली जनावर ले क्षति पु¥याउने गरेका हुन् । स्थानीय सरकारले बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् । किसानले वर्षेनी बालीनालीमा क्षति बेहोर्दासमेत सरकारले केही राहत नदिएको किसानले गुनासो गरेका छन् ।