बिहिबार, ०४ बैसाख २०८२

धानले गाँज हाल्नै लाग्दा पनि मल अभाव

रूपन्देहीको ओमसतिया–६ नरैनापुरका विजय यादवले मल बिनै रोपाइँ गरे । त्यसपछि पनि मल पाएनन् । यस वर्ष खेतमा मलको दाना नपरेको उनले बताए । ‘पाँच बिघा खेतमा मल हाल्न पाइएन,’ उनले भने, ‘उत्पादन घट्ने थाहा छ । तैपनि चुप लागेर बसेको छु ।’

गत वर्ष भारतीय बजारबाट अरूले ल्याएको मल किनेर छरेका थिए । यसपालि सीमा सिल भएकाले भारत जान नसकेको उनको भनाइ छ । नरैनापुरका १ सय ६० घरधुरीले मलबिनै रोपाइँ गरेका छन् । अहिले धानले गाँज हाल्ने बेला भयो । अझै मल नपाएको उनले गुनासो गरे । स्थानीय पठ्खौलीस्थित सहकारीबाट मल नपाइएपछि खेत बाँझो नराखेको उनले बताए । गाउँमा अधिकांशको १ देखि १५ बिघासम्म खेत छ । स्थानीयका अनुसार अहिले धानको टुप्पो खैरो हुन थालेको छ । यसले उत्पादनमा ह्रास आउने यादवको भनाइ छ । विगतका वर्षमा घरका लागि राखेर ३ लाख रुपैयाँसम्मको धान बेची आम्दानी गर्ने गरेका यादवले यस वर्ष १ लाख रुपैयाँको बेच्न नपाउने गुनासो गरे ।

नाका नजिकका किसान मात्र नभई मध्य क्षेत्रका किसान पनि धानको गाँज लागेपछि आवश्यक युरिया मल नपाउँदा चिन्तित छन् । सैनामैना–११ सालझन्डीका तारा सापकोटाले १५ कट्ठा खेतमा रोपेको धानमा युरिया मल हाल्न नपाएको बताए । ‘पानी धेरै परेर १ कट्ठा धान पुरियो,’ उनले भने, ‘अन्य खेतका लागि पनि युरिया पाइएन ।’ छोरालाई छिमेकी सहकारीमा पठाउँदा पनि मल नपाएपछि निराश बनेका उनले बल्लतल्ल निजी पसलबाट १ बोरा युरिया मल ल्याई छरेको बताए । बर्सेनि समस्या उस्तै रहेको र यस वर्ष कोरोनाका कारण अझ बढी मारमा परेको उनले सुनाए ।

जिल्लाका किसानले खेत रोपेको दुई/तीन महिना कटिसक्दासमेत मल पाएका छैनन् । खेत रोप्नुअगावै पर्याप्त मल नपाएका किसानमध्ये केहीले भारतीय बजारबाट मल ल्याई छरे । तर अहिले नाकामा कडाइ र पुनः बन्दाबन्दी सुरु भएपछि भारतीय बजारबाट समेत मल ल्याउन नपाएको उनीहरूको गुनासो छ । खेत नरोप्दै छर्नुपर्ने डीएपी र रोपिसकेपछि चाहिने युरियाको अभाव बर्सेनि खेप्दै आएका किसानले बन्दाबन्दी र नाका सिल भएको अवस्थामा समेत लुकीछिपी भारतीय बजारबाट महँगोमा मल किनेर ल्याएका थिए ।

जिल्लाको उत्तर र दक्षिण भेगका प्रायः किसानको खेतबारीमा गाँज हाल्दै गरेको धानमा भारतीय बजारबाट खरिद गरी ल्याइएको मल प्रयोग भएको छ । धान उत्पादन गरेरै आम्दानी गर्ने र परिवार पाल्ने गरेका किसानले कोरोना त्रास भए पनि खेती बिगार्नुभन्दा रोग लाग्नु बेस रहेको बताए । कृषि सामग्री कम्पनी भैरहवामा आउनुपर्ने मल बन्दाबन्दीका कारण नआएको र यहाँका लागि आवश्यक पर्याप्त मल सरकारले नै नपठाएकाले किसानलाई चाहे जति मल दिन नसकेको कार्यालयका सूचना अधिकारी गणेश घिमिरेले जानकारी दिए । त्यही कारणले किसानले पारिबाट मल ल्याएको र पर्याप्त नपाएको गुनासो गरेको उनले बताए । सुरुमै खेतमा मल आवश्यक पर्दा नपाएका किसानले स्थानीय पालिकामा आन्दोलन गरी मलको मागसमेत गरेका थिए । तर त्यति गर्दासमेत मल भने उपलब्ध भएन ।

धान रोप्नुअगाडि प्रशस्त डीएपी र केही मात्रामा युरिया अनि पोटास मल प्रयोग गर्नुपर्ने प्रदेश ५ का कृषिविज्ञ डिलाराम भण्डारीको भनाइ छ । ‘१ हेक्टरमा २ सय २० किलो युरिया चाहिन्छ,’ उनले भने, ‘पहिलो पटक धान रोप्ने बेलामा छर्नुपर्छ ।’ बाँकी रहेको १ सय १० केजीमध्ये ५५ केजी धान रोपेको १ महिनामा र बाँकी ५५ केजी धान रोपेर बाली हाल्ने समय अर्थात् ८५ दिनमा राख्दा उपयुक्त हुने उनले बताए । सरकारले नै भारतबाट मल आयात गरेकाले गुणस्तरका विषयमा सरकारले मापदण्ड पूरा भएको मल ल्याएको भण्डारीको भनाइ छ । किसानले अवैध तरिकाले मल ल्याएको भए पनि भारतकै मल वैधानिक रूपमै आयात भइरहेको सन्दर्भमा गुणस्तर फरक हुन्छ भन्ने नभएको उनले बताए ।

त्यस्तै पश्चिम नवलपरासीको रामग्राम–१८ का शैलेन्द्र चौधरीले मल अभावमा यस वर्ष उत्पादन घट्ने बताए । ‘रोप्ने समयमा पनि मल पाइएन,’ उनले भने, ‘गोबर राखेर रोपाइँ गरियो ।’ गोडमेल गरेपछि मल राखिएन भने फसल नलाग्ने उनको भनाइ छ । घण्टौं सहकारीमा लाइन बसेर पनि रित्तै फर्किनुपरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित