एक भूपू सैनिकको नर्सरी झैँ घर

भारतीय गोर्खा सैनिकमा भर्ती हुन जाँदा कोमल मुटुको भनेर फर्काइएका शमशेर राई अहिले आफ्नै घरभित्र विभिन्न प्रजातिका कोमल फूल फुलाइरहेका छन् । पुर्ख्यौली घर भोजपुर जरायोटारका ५४ वर्षीय राईले ललितपुरको सीतापाखामा रहेको चार आनामा बनेको आफ्नो घरभित्र र बाहिर विभिन्न प्रजातिका फूलको नर्सरी बनाएका छन् ।
एसएलसी पास गरेपछि आईए पढ्न काठमाडौं आएदेखि नै नर्सरीमा काम गर्दै पढ्दै गरेका उनले एक वर्ष होटलमा काम गरे । त्यसपछि याक एन्ड यती होटलमा मालीको काम गर्न उनलाई बोलाइयो । त्यहाँ उनले काम गर्न थालेको २४ वर्ष भयो । घरको नर्सरीमा भने साँझबिहानको समय मिलाएर काम गर्दै आएका छन् । बाहिर जग्गा भाडामा लिएर नर्सरी राख्दा खर्च बढी लाग्ने भएकाले आफ्नै घरमा विभिन्न प्रजातिका फूल लगाएको उनको भनाइ छ ।
उनीकहाँ लक्की ब्याम्बो, मनिप्लान्ट, पान्डा प्लान्ट, सिल्भर पेन्स, मन्स्टेरा, इन्कामेरिगोल्ड, बुकन्बेलीलगायत फूल पाइन्छन् । शमशेरले सबै बिरुवा आफैं उत्पादन गर्छन् । नर्सरीमा २५ देखि १५ सय रुपैयाँसम्मको बिरुवा पाइने उनले जानकारी दिए । यसका लागि वार्षिक ५० हजारदेखि ६० हजार रुपैयाँसम्म लगानी लाग्ने उनले बताए । व्यापार भने मासिक २५ देखि २० हजार रुपैयाँसम्म हुने उनको भनाइ छ । ‘घर आउने ग्राहक मैले गरेको काम देखेर चकित पर्नुहुन्छ,’ उनले भने, ‘मैले घरमै बिरुवा उत्पादन गरेको देखेर रमाउनुहुन्छ ।’ परिवारका सदस्यले व्यवसायमा सघाइरहेको उनले बताए ।