सोमबार, २१ माघ २०८१

गोलभेडामा रोगले ठूलो क्षति

‘आफू ताक्छु मुडो बन्चरो ताक्छ घुँडो’ भन्ने उक्ति यतिबेला मोरङको लेटाङका किसानका लागि सही सावित भएको छ । कृषि पेशालाई व्यावसायिक रुपमा आत्मसात गरेका यहाँका किसानले पछिल्लो समय गोलभेडा खेती गर्दै आएका छन् । गोलभेडा खेतीबाट जीविकोपार्जनसँगै छोराछोरीलाई निजी विद्यालय र कलेज पढाउँदै आएका छन् । तर, उनीहरूका लागि यस वर्ष माथि उल्लेखित उखान ठ्याक्कै लागू भएको छ ।
कोरोना कारण कतिपयको रोजगारी गुमेपछि गोलभेडा खेतीलाई थप विस्तार गरेका थिए । विगतमा राम्रो आम्दानी गर्दै आएका किसान यस वर्ष भने निराश देखिएका छन् । गोलभेडा खेतीमा रोग लागेर बारी नै सखाप भएपछि उनीहरू निराश मात्रै होइन अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ब्लक कार्यक्रमअन्तर्गत गोलभेडा खेती गरेका अधिकांश किसानको गोलभेडा बालीमा रोग लागेपछि लगानीसमेत डुब्ने अवस्थामा पुगेको स्थानीय किसान माधव अधिकारी बताउँछन् । लेटाङ–८ र ९ जाँतेका प्राय सबै किसानका बारीमा यतिबेला गोलभेडा खेती लगाइएको छ । प्रधानमन्त्री कृषि आधिुनिकीकरण कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र विराटनगरमार्फत यस क्षेत्रमा गोलभेडाको ब्लक कार्यक्रम सञ्चालन भएपछि कृषकहरूले १ सय ५० बिघामा गोलभेडा खेती गरेका छन् ।
स्थानीय उत्तरी मोरङ कृषि महिला सहकारी संस्थामार्फत संगठित भएका कृषकहरूले ब्लक कार्यक्रममार्फत ५० प्रतिशत अनुदान पाएका छन् । ब्लक कार्यक्रममार्फत उपलब्ध गराइएको सिर्जना जातको गोलभेडा सबै किसानले लगाएका छन् । तर अधिकांश किसानको बारीमा लगाएको गोलभेडा रोगका कारण फस्टाउन सकेको छैन । कसैको त बारी नै पूरै सखाप भएको छ । “फल्न नपाउँदै गोलभेडाको सबै बोट मरेको छ,” अधिकारीले भने, “औषधि लगाउँदा पनि काम लागेन । अब साँच्चै अप्ठ्यारो अवस्था आउने भो ।”
यो क्षेत्रमा उत्पादित गोलभेडाले बजार पनि राम्रो पाउने गरेको थियो । व्यापारीहरू बारीमै पुगेर गोलभेडा उठाउने गरेका थिए । यहाँको गोलभेडा प्रदेश १ का मुख्य बजार विराटनगर, इटहरी, धरान, दमक, विर्मामोडलगायतका स्थानसम्म पुग्ने गरेको थियो । “आफ्ना लागि त पहिलै गाँसमा ढुंगा लागेझैं भयो,” धान खेती मासेर गोलभेडातर्फ लागेका स्थानीय किसान दुर्गाप्रसाद सुवेदी भन्छन्, “यसको क्षतिपूर्ति सरकारले दिए केही राहत हुने थियो ।”
गतवर्ष गोलभेडा खेतीबाट निकै राम्रो आम्दानी लिन सफल किसानले यस वर्ष पनि सोहीअनुसारको आम्दानी हुने आशा गरेका थिए । तर थाहा नपाएको रोगका कारण लगानी उठाउनसमेत समस्या भएको कृषकहरूको गुनासो छ । “अघिल्लो दिन जस्ताको त्यस्तै देखिने गोलभेडाको बोट भोलिपल्ट सुकिसकेको हुन्छ ।” सुवेदीले भने ।
लेटाङमा प्रधानमन्त्री कृषि आधिुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्र विराटनगरमार्फत उत्तरी मोरङ कृषि महिला सहकारी संस्थाको समन्वयमा गोलभेडाको ब्लक कार्यक्रम सञ्चालित छ । जसमा ४० लाख बजेट खर्च हुनेमा कृषकले ५० प्रतिशत अनुदान पाएका छन् । तर सरकारले यसरी ठूलो रकम खर्च गरिरहँदा र कृषक स्वयम्ले पनि लगानी र मेहनत गर्दासमेत रोगका कारण सोचेअनुसारको प्रतिफल नआउने देखिएको छ ।
रोगले बारी नै सखाप भएपछि ब्लक कार्यक्रम नै विफल हुने सम्भावना देखिएको छ । यस विषयमा जानकारी दिँदासमेत कृषि ज्ञान केन्द्रले बेवास्ता गरेको कृषकहरूको गुनासो छ । कोरोनाका कारण रोजगारी गुमेपछि विदेशबाट फर्किएका अर्जुन मगरले ४ बिघा क्षेत्रफलमा गोलभेडा लगाएका छन् । जमिन उनको होइन । उनले लिजमा जग्गा लिएका हुन् । मगरको पनि स्वदेशमै केही गर्ने सपना चकानाचुर भएको छ । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *