अलैंची मूल्य बढ्यो

कोरोना कहरकाबीच नेपाली अलैंचीको मूल्य हृवात्तै उकालो लागेको छ । तीन हप्ताको समयमा प्रतिमन २३ हजार रुपैयाँबाट बढेर ३८ हजार पुगेको छ । अरबियन देशमा अलैंचीको माग बढेकाले मूल्य पनि बढेको हो ।
अलैंची निकासी हुने प्रमुख नगदेवाली हो । गतबर्षबाट निरन्तर ओरालो लागेको मूल्य २२ हजार रुपैयाँसम्म झर्यो । अरबका देश तथा पाकिस्तानमा माग बढेकाले यसपटक कोरोनाको दोस्रो लहर चलिरहँदा समेत अलैंचीको मुल्य हृवात्तै बढेको हो । तीन हप्तादेखि दैनिक जसो मूल्य उकालो लागेका छ । झापाको विर्तामोडमा उच्च गुणस्तरको अलैाची प्रतिमन ३८ हजार रुपैयाँ कारोवार भएको व्यवसायी बताउँछन् ।
अलैंचीको मूल्य बढेको लाभ किसानले भने लिन सकेका छैनन् । किसानले साउन भदौमा उत्पादन गरेको अलैँची प्रशोधन गरेर मंसिरसम्ममा व्यापारीलाई विक्री गरी सकेका हुन्छन् । सस्तोमा विक्री गरको अलैची व्यापारीको गोदाममा पुगेपछि मात्र मूल्य बढ्ने किसानको आरोप छ ।