मंगलबार, ०६ फाल्गुण २०८१

दैनिक दश लाख लिटर दूध अभाव

कोभिड–१९ का कारण दुग्ध तथा दूध पदार्थ बिक्री नहुँदा हैरान भएका डेरी उद्योगीहरूलाई अहिले दूधको अभाव भएको छ । होटल, विद्यालय, पार्टी प्यालेस, कलकारखानालगायत बजार सञ्चालनमा आएपछि दूध तथा दुग्धजन्य पदार्थको माग बढेको कारण दूधको अभाव भएको छ ।

कोभिड–१९ महामारीका कारण भएको बन्दाबन्दीका कारण बिक्री नभएको दूधबाट एसएनपी (धुलो दूध), बटर, चिज बनाएर डेरी उद्योगीले भण्डार गरेका थिए । भण्डार गरिएका दुग्धजन्य पदार्थ बिक्री नहुँदा उद्योगी तथा व्यवसायी चिन्तित थिए । उनीहरूले त्यसलाई बिक्री गर्नका लागि विभिन्न वैकल्पिक बजार खोजिरहेका थिए । अहिले उनीहरूको पूरै भण्डार खाली मात्र भएको छैन, दुग्ध पदार्थको अभाव पनि हुन थालेको छ । सरकारले गत वर्ष नै धुलो दूध तथा बटरमा आत्मनिर्भर रहेको घोषणा गरेको थियो तर अहिले त्यसको अभाव हुन थालेको छ ।

नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दहालले आफूहरूको पूरै भण्डार खाली भएको र अहिले बजारमा दूध, बटर र एसएनपीको अभाव हुन थालेको बताउनुभयो । “डेरी उद्योगीहरूसँग स्टोरमा रहेको एनएनपी, बटर, चिजहरू खपत भइसक्यो, अब बजारमा नै अभाव देखिन थालेको छ,” उहाँले भन्नुभयो, “यो बेला दूध उत्पादनमा वृद्धि हुनुपर्ने हो तर अहिले बेला अभाव हुन थालेको छ । दैनिक ४० देखि ४२ लाख लिटर दूध चाहिन्छ तर अहिलेको सङरकलन ३० देखि ३२ लाख लिटर मात्र रहेको छ अर्थातर हामीसँग १० लाख लिटर दूधको अभाव छ । ”

तर दूध तथा दुग्ध पदार्थका नियामक संस्था राष्ट्रिय दुग्ध विकास बोर्डका प्रमुख राजेन्द्र यादवले व्यापारीले भनेजस्तो अभाव बजारमा नदेखिएको दाबी गर्नुभयो । भण्डारमा रहेको दुग्ध पदार्थ सबै खपत हुनु नै खुसीको कुरा हो । अहिले बजार सन्तुलन अवस्थामा रहेको बताउँदै उहाँले अहिले अभाव छैन, अभाव नहोसर त्यसमा सरकार सचेत रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित