बिहिबार, ०८ फाल्गुण २०८१

हाईब्रिड धान पीडित किसानलाई राहत

उपत्यकाका विभिन्न नगरपालिकामा लगाइएको धानमा दाना नलागेर प्रभावित भएका किसानलाई राहत÷क्षतिपूर्ति दिने भएको छ । पुुस १२ गते पीडित किसानलाई राहत÷क्षतिपूर्ति दिने कृषि ज्ञान केन्द्र ललितपुरले जनाएको छ ।

सिचुवान सिड विज्ञान तथा प्रविधि कम्पनी लिमिटेड चीनबाट उत्पादित डीवाई २८ हाइब्रिड जातको धानको बीउ स्थानीय बिक्री केन्द्रबाट किनेर किसानले खेतमा लगाएका थिए तर पाँच महिना बितिसक्दा पनि धानमा दाना लागेको थिएन । जब कि यो जातको धान रोपेको दिनदेखि १२० दिनमा पाक्ने बीउको प्याकेटमा नै उल्लेख छ । उपत्यकालगायत वरपर जिल्लामा धानमा बाला नलागेको समाचार सञ्चार माध्यममा आएपछि सरकारले किसानलाई राहत÷क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका किसानलाई पुस १२ गते, कीर्तिपुर नगरपालिकाका किसानलाई पुस १३ गते, चन्द्रगिरि नगरपालिकाका किसानलाई पुस १४ गते, गोकर्णेश्वर कागेश्वरी मनोहरा नगरपालिकाका किसानलाई १६ गते, शङ्खरापुर नगरपालिकाका किसानलाई पुस १८ र १९ गते तथा टोखा नगरपालिकाका किसानलाई २० र २१ गते क्षतिपूर्ति दिने भएको छ ।

त्यस्तै ललितपुर महानगरपालिकाका किसानलाई पुस २२ र २३ गते, गोदावरी नगरपालिकाका किसानलाई पुस २५ देखि २७ गतेसम्म तथा महालक्ष्मी नगरपालिकाका किसानलाई पुस २८ र २९ गते राहत÷क्षतिपूर्ति दिने भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकाका किसानलाई माघ २ देखि ५ गतेसम्म, सूर्यविनायक मध्यपुर थिमि नगरपालिकाका किसानलाई माघ ६ देखि ११ गतेसम्म राहत÷क्षतिपूर्ति दिने केन्द्रले जनाएको छ ।

नगरपालिकाबाट प्राप्त तथ्याङ्कमा आधारित डीवाई २८ जातको धानको दाना नलागी प्रभावित भएका कृषकलाई सो बीउ आयातकर्ताबाट राहत एव क्षतिपूर्ति दिलाउन लागेको केन्द्रले जनाएको छ । पीडित किसानले क्षतिपूर्ति लिनका लागि आआफ्नो पहिचान खुलाउन नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) भाडा वा ठेक्कामा लिएको जमिन भए करारनामा पत्र, बीउ खरिद भएको एग्रोभेट वा बिक्रेताको नाम, ठेगाना र खरिद बीउ परिमाण, परिवारको सदस्यको नाममा लालपुर्जा भएको नाता खुलेको प्रमाणपत्र पेस गर्नुपर्ने केन्द्रले जनाएको छ । आआफ्नो प्रमाण पुस १० गतेभित्र आआफ्नो नगरपालिकाको कृषि शाखामा पेस गर्न केन्द्रले सूचना जारी गरेको छ ।

कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख कृष्णभद्र अधिकारीका अनुसार पीडित किसानलाई प्रति रोपनी दुई हजार २५० रुपियाँ राहत दिइनेछ । केन्द्रका अनुसार १२ वटा नगरपालिकामा सात हजार ८०० रोपनीमा लगाइएको धानमा बाली लागेको थिएन । किसानले दिएको निवेदनका आधारमा तथ्याङ्क सङ्कलन गरिएको हो ।

किसानले प्रमाण पु-याए मात्र राहत पाउने केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो । यो राहत डीवाई २८ जातको हाइब्रिड धानको बीउ आयात गरेका कम्पनी काष्ठमण्डप ट्रेड प्वाइन्टले दिनेछ । सरकारी लागतअनुसार धान रोपाइँमा प्रतिरोपनी चार हजार ५०० रुपियाँ खर्च भएको छ ।

त्यसको ५० प्रतिशत राहत दिइने सहमति भएको उहाँले बताउनुभयो । प्रमुख अधिकारीले भन्नुभयो, “यो राहत हो, क्षतिपूर्ति होइन । ” कृषि ज्ञान केन्द्र, सम्बन्धित नागरिपालिका र बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको रोहबरमा बीउ आयातकर्ता कम्पनीले आफैँ सो राहत वितरण गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित