गहुँका नयाँ जातको विकास

विगत ६३ वर्षमा नेपालमा गहुँका ५४ वटा नयाँ जात विकास भएको छ । कृषि वैज्ञानिकहरूले गरेको एक दशक लामो अनुसन्धानपछि यो वर्ष गहुँका चारवटा नयाँ जातको विकास भएको हो । राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमले लामो अनुसन्धानपछि तराईका लागि एनएल १४-४६ र बीएल ४८-१८ तथा पहाडका लागि एनएल ११-७९ र एनएल १४-८८ नाम दिएर गहुँको नयाँ जात विकास गरेको छ । गाँज राम्रो लाग्ने र दाना ठूलो हुने भएकाले विकास गरिएका नयाँ जातको उत्पादकत्व राम्रो हुनुका साथै रोगकीरा अवरोधी रहेको दाबी कृषि वैज्ञानिकहरूको छ । बीएल ४८-१८ क्रस गरेर विकास गरिएको हो भने अन्य जात पाँचदेखि १२ वर्ष लामो अनुसन्धानपछि विकास भएका हुन् ।
राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रम रूपन्देहीका वरिष्ठ कृषि वैज्ञानिक दीपक पाण्डेका अनुसार यी जातहरुमा सिन्दूरे रोग सहने विशेषता छ ।
गहुँको जात विकास भएपछि त्यो किसानमाझ सिफारिस हुन्छ । खेती गर्दै जाँदा केही वर्षपछि जातीय गुणमा ह्रास आउँछ । नयाँ रोगकीराको आक्रमणले उत्पादन घट्दै जान्छ । त्यसैले नयाँ जात विकास गरिरहन जरुरी छ । कृषि वैज्ञानिकहरूका अनुसार जात विकास गर्दा माटो, हावापानीअनुकूल, रोगकीरा सहनसक्ने गरी अनुसन्धान हुन्छ । नेपालका २० वटा अनुसन्धान स्थलमा गहुँको नयाँ जातको विकास गर्न अनुसन्धान हुनेगरेको छ ।
दुई वर्षअघि पनि पहाडका लागि खुमलशक्ति, भेरीगंगा र हिमगंगा तथा तराईका लागि जिंक गहुँ १, जिंक गहुँ २ र बोर्लग २०-२० सिफारिस भएका छन् । यी जातमा जिंक र आइरनको मात्रा बढी छ । उत्पादन र उत्पादकत्वसँगै रोगकीराको संक्रमणदर कम छ । तर, अहिलेसम्म नयाँ जात किसान माझ पुग्नसकेको छैन । न त विस्तारमा तीन तहकै सरकारले रुचि देखाएका छैनन् ।
वार्षिक २१ लाख टन गहुँ उत्पादन हुने नेपालमा करिब चार लाख टन बाह्य मुलुकबाट आयात हुन्छ । नयाँ जात किसानमाझ पुर्याउन सके तथा मलखाद र सिचाइँको उचित व्यवस्था भए गहुँमा आत्मनिर्भर हुन सकिने कृषि वैज्ञानिकको दाबी छ ।