शनिबार, १० फाल्गुण २०८१

प्रतिरक्षा क्षमता बढाउँ भन्दै विश्व दूध दिवस मनाईदै

 

सरकारले ‘नियमित दूध सेवन गरौँ, रोग प्रतिरोधात्मक क्षमता बढाऔँ’ भन्ने मूल नाराका साथ दसौँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस मनाइरहेको छ । विश्व दूध दिवस १ जुन २००१ बाट विश्व खाद्य सङ्गठनले मनाउन सुरु गरेको थियो । नेपालमा विगत नौ वर्षदेखि राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा विश्व दूध दिवस मनाउँदै आएको छ ।

हाल विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को उपचारका लागि कुनै औषधि तथा खोप बन्न नसकेको सन्दर्भमा रोगसँग लड्ने तथा शारीरिक तन्दुरुस्त बनाई राख्न दूध तथा दुग्ध पदार्थको नियमित सेवन गर्नु एक उत्तम विकल्प रहेको बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले बताउनुभयो ।

नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा ३ प्रतिशत चिल्लो पदार्थ एवं ८ प्रतिशत चिल्लोरहित अन्य ठोस पदार्थ हुनुपर्दछ । मानक प्रशोधित दूधमा हुने ३.० प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुने गरेको उहाँले जानकारी दिनुभयो । बोर्डले दुध दिवसको अवसरमा सोमबार सामाजिक दूरी कायम गरी दूधको विषयम अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

नेपाल डेरी एसोसिएसनले विश्व दूध दिवसको अवसरमा नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्रद्वारा सञ्चालित होस्टलमा रहेका करिब १५० जनालाई खीर खानका लागि ८० लिटर दूध, चामल र चिनी प्रदान गरेको छ ।

देशमा दैनिक औसत ६२ लाख लिटर दूध उत्पादन हुन्छ । यसमध्ये ३१ लाख लिटर दूध बजारमा बिक्री हुने गरेको छ भने अर्को ३१ लाख दूध किसान आफैँले उपभोग गर्ने गरेको पाइन्छ । बजारमा बिक्री हुने ३१ लाख दूधमध्ये करिब १७ प्रतिशत दूध औपचारिक क्षेत्रका डेरी उद्योगहरूले खपत गर्ने र बाँकी ३३ प्रतिशत अनौपचारिक रूपमा विभिन्न तरिकाले खुल्ला रूपमा घरघर पु¥याई बजारमा बिक्री गर्ने गरेको पाइएको छ । बन्दाबन्दीको घोषणा हुनुअघिसम्म औपचारिक र अनौपचारिक रूपमा यो क्षेत्रको माध्यमबाट दैनिक पाँच करोड रुपियाँ रकम सहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा प्रवाह हुँदै आएको थियो । अहिले दूध बिक्रीको बजार ८० प्रतिशतले कम भएको डेरी एसोसिएनका महासचिव प्रल्हाद दाहालले बताउनुभयो । हाल दूध बिक्री २५ प्रतिशतमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित