बर्खे धानको सिजन : खेती बारे सम्पूर्ण प्राविधिक जानकारी
औषत ३.५ टन प्रति हेक्टर रहेको हाम्रो प्रमुख खाद्यान्न बाली, धानको उत्पादनलाई वृद्धि गर्नु अहिलेको आवश्यकता र चुनौती दुवै रहेको छ । पर्याप्त मात्रामा वर्णशंकर जातको उपलब्धता नभएको अवस्थामा स्थानीय उन्नत जातको धानको प्रवर्द्धन र उचित खेती प्रविधि मार्फत नै उत्पादन वृद्धि गर्न सकिनेछ । कुन धान लगाउने, अगौटे, बर्खे वा हिउदे सोहि अनुसार जग्गा छनौट गर्नुपर्दछ । सिफारीस गरिएका उन्नत जातको धानको बीउ मात्र प्रयोग गर्ने, नर्सरी तथा जग्गा तयारी गर्दा प्रांगारिक मलको प्रयोग १० मेट्रिक टन प्रति ३० कट्ठाका दरले गर्दा राम्रो हुन्छ ।
बीउ छनौट गर्दा ३ लि. पानीमा आधा के.जी. नून मिसाएर घोल बनाई राम्ररी चलाउने र धान बीउलाई १-२ मिनेट राखी छान्नुपर्दछ । राम्रा र स्वस्थ बीउ पिधमा बस्छ र नराम्रा बीउ पानीमा तैरिने विधि अवलम्बन गरी तल बसेको बीउलाई २-३ पटक पखालेर धानको ब्याडमा छर्दा १०-१२ % सम्म उत्पादन वृद्धि भएको पाईएको छ । बीउ छर्नु भन्दा अगाडी साफ, सफल, बेभीष्टिन वा डेरोसाल पाउडर बिषादी २.५ ग्राम प्रति के.जी.का दरले धानको बीउ मिसाई उपचार गर्ने र २-३ दिनसम्म बन्द भाडोमा राखेर ब्याडमा बीउ छर्ने गर्नुपर्दछ । तराईमा १.२५ देखि १.५० के.जी. प्रति कट्ठा तथा पहाडमा २ देखि २.५ किलो ग्राम प्रति रोपनी बीउ प्रयोग गर्नुपर्दछ । छरुवा गर्दा ब्याडभन्दा दोब्बर बीउको प्रयोग गर्नुपर्छ । ब्याड जेष्ठ देखि असारको दोस्रो हप्तासम्म राख्न सकिन्छ । मरुवा रोग लाग्ने ठाउँमा पानी ब्याड उपयुक्त हुन्छ । धान खेती गर्ने जग्गामा धान रोप्नु भन्दा २-३ हप्ता अगाडी राम्ररी जोतेर तयार गर्नु पर्दछ । जोतेको खेतमा रोप्नुभन्दा ५-७ दिन अगाडी देखि पानी जमाएर राख्दा झारपात राम्रोसंग कुहिन्छ । २०-२५ दिनको बेर्ना रोप्नु उपयुक्त हुन्छ । धान रोपेको २५-३० दिनमा पहिलो टप ड्रेस र ५०-६० दिनमा गोडमेल गरेपछि १.६ के.जी. युरिया प्रति कट्ठा टप ड्रेस गर्नुपर्दछ । धान लगाएको ४-५ दिनमा बुटाक्लोर नामक झारपात नासक बिषादी ८०० ग्राम प्रति कट्ठाको दरले छरेर झारपात नियन्त्रण गर्न सकिन्छ ।
सिचाईं:
धान रोपेको ५-६ दिनपछि १५-२० दिनसम्म ३-५ से.मी. र त्यसपछि धान पाक्नुभन्दा १५-२० दिन अगाडीसम्म ५-७ से.मी. पानी जमाउनु उपयुक्त हुन्छ ।
रोग कीरा व्यवस्थापन:
समय समयमा खेतमा निरिक्षण गरी रोग कीरा लागेमा सम्बन्धित विज्ञको सल्लाह लिई विषादीको प्रयोग गर्नु उचित हुन्छ ।
बाली भित्राउने र उत्पादन :
करीब ८०-९० प्रतिशत दाना पहेलिए पछि धान काट्न उपयुक्त हुन्छ । धान काटेर १-२ दिनसम्म खेतमा सुकाएर झार्दा सजिलै झार्न सकिन्छ । धान झारेपछि ३-४ घाम राम्ररी सुकाएर मात्र भण्डारण गर्नुपर्छ । राम्ररी नसुकेको धान भण्डारण गर्दा कुहिने, कीरा लाग्ने र टुक्रिने हुन्छ ।
उन्नत धान खेतीका लागि मुख्य कृषि कार्यहरु
बीउको उपचार
गुणस्तरीय बीउबाट स्वस्थ र बलियो बेर्ना तयार हुन्छ र एकनासको उमारले बालीको उत्पादन बढ्छ । बीउ छर्नुभन्दा अगाडी साफ, सफल, बेभीष्टिन वा डेरोसाल पाउडर बिषादी २-२.५ ग्राम प्रति के.जी.का दरले धानको बीउ मिसाई उपचार गर्ने
उन्नत जातको छनौट
चैते: चैते-२, चैते-४, चैते-६, हर्दिनाथ-१, विन्देश्वरी
बर्षे धान (तराई र मध्य तराई): हर्दिनाथ-२, तरहरा-१, स्वर्ण सब-१, सामा मसुली सब-१, सुख्खा धान-१, सुख्खा-२, सुख्खा-३, लोकतन्त्र, लल्का बासमती, मिथिला, राम धान, सावित्री, राधा-४, राधा-११, राधा-१२, सुनौलो सुगन्धा, बर्षे २०१४
पहाड: चाईनुङग़-२४२, ताईचुङग़- १७६, खुमल-३, खुमल-४, खुमल-९, खुमल-१०, खुमल-१३
उच्च पहाड: छोमरोङग़ लोकल, चन्दननाथ-१. चन्दननाथ-३, माछापुच्छ्रे-३, जुम्लीमर्शी
ब्याडको तयारी
राम्रोसँग तयार पारिएको र उचित व्यवस्थापन गरिएको नर्सरी ब्याडबाट मात्र स्वस्थ बेर्नाहरु उत्पादन हुन्छन् र स्वस्थ बेर्ना राम्रो बाली लिनको लागि असल सुरुवात मानिन्छ । २ मिटर चौडाई र ५ मिटर लम्बाईको ब्याड बनाउने । आवश्यकता अनुरुप लम्बाई र ब्याड संख्या बनाउने ।
ब्याड राख्ने समय
बोरो धान : मंसिरको पहिलो हप्ता देखि दोस्रो हप्ता सम्म
चैते धान: माघको अन्तिम हप्तादेखि फागुनको पहिलो हप्तासम्म
वर्षे धान: जेष्ठ देखि असरको दोस्रो हप्तासम्म
भदैया धान: जेष्ठको दोस्रो हप्ता देखि अन्तिम हप्ता सम्म
मलखाद
१० वर्ग मिटरको लागि डिएपी १०८ ग्राम, युरिया १७५ ग्राम, म्युरेट अफ पोटास ८३ ग्राम, जिंक सल्फेट ४८ ग्राम एक नासले छर्ने ।
बीउ छर्ने तरीका
धुले ब्याड : प्रति कट्ठाको लागि १० वर्ग मिटरमा १.५ के.जी. बीउ छर्ने र माटोले पुरी सम्याउने
हिले ब्याड : ब्याडमा कम्तिमा ५ से.मी. सम्म पानी अड्याई राख्नु पर्दछ । तयार गरिएको ब्याडमा टुसाएको बीउलाई १.५ के.जी. प्रति कट्ठाको दरले ब्याड तयार गर्ने
सिचाईं र अन्य व्यवस्था
धुले ब्याडमा माटो भिज्ने गरी झारिले पानी हाल्ने
जग्गाको तयारी तथा रोपाई गर्ने अवस्था
जग्गाको तयारी
राम्रोसँग सम्याई आली लगाएको खेतमा झारपातको प्रकोप कम हुनुको साथै खेतमा प्रयोग गरिएको पानीको प्रभावकारिता बढी हुन्छ ।
धुले (छरुवा )
चैते धानमा धुले (छरुवा) गर्न सकिन्छ ।
हिले रोपाई गर्ने
जहाँ सिचाई सुबिधा उपलब्ध छ ।
हिले रोपाई गर्दा ३-४ पटक खेत जोती सम्याउने ।
बालीको अवस्था अनुसार उचित समय र उचित मात्रामा
मलखादको प्रयोग भएमा मलमा भएको पोषण तत्वले बालीको उत्पादन बढाउनुको साथै माटोको उर्बराशक्ति कायम राख्छ ।
खेत तयारीको अवस्थामा मलखाद प्रति कट्ठाको लागि
सिचाई अवस्था | प्रांगारिक मल (कि.ग्रा./कट्ठा) | युरिया (कि.ग्रा./कट्ठा ) | डि.ए.पी. (कि.ग्रा./कट्ठा ) | म्यू.अ.पो. (कि.ग्रा./कट्ठा ) |
सिंचित | २०० | ३.२ | २.२ | १.७ |
असिंचित | २०० | १.९ | १.५ | १.२ |
पुनश्च: खेती पद्धति, बाली चक्र, माटोमा उपलब्ध खाद्यतत्व, प्रांगारिक मलको मात्रा आदिको आधारमा आवश्यक रासायनिक मलको परिमाण निर्भर रहने छ ।
वर्णशंकर जात लगाउदा उन्नत जातको भन्दा डेढ गुणा बढीका दरले मलखाद तथा रासायनिक मलको प्रयोग गर्ने ।
जिंक सल्फेट ७००-८५० ग्राम प्रति कट्ठाको दरले प्रयोग गर्ने ।
रोपाई गर्ने तरिका
धुले खेतमा सोझै छरुवा गर्न सकिन्छ ।
हिले खेतमा बोटदेखि बोट र लाईन देखि लाईन २० से.मि. X २० से.मि. को दुरीमा रोपाई गर्ने । एक रोपमा २-३ बेर्ना लगाउने ।
झारपात नियन्त्रण
झारहरुले धानको बिरुवासँग सूर्यको प्रकाश, मल र पानी पाउनको लागि प्रतिस्पर्धा गर्ने हुँदा बालीको उत्पादन घटाउने हुदा यसको नियन्त्रणका लागि पेन्डीमिथालिन ३४ ग्राम ए.आई. प्रति कट्ठा रोपाई गरेको ३ दिनभित्र छर्ने ।
टप ड्रेस गर्ने तरिका
छिप छिपे पानी भएको बेला टप ड्रेस गर्ने ।
मलखादको मात्रा
१.६ कि.ग्रा. युरिया प्रति कट्ठाको दरले छर्ने ।
पानीको व्यवस्थापन
पानी बग्न नदिने तर सघन धान खेती पद्धति अनुरुप खेत सुकाउँदै पानी लगाउनले जराको फैलावट बढ्नुको साथै गाज बढ्ने हुन्छ ।
कीटनाशक विषादीको प्रयोग
खेतको दैनिक निगरानी गर्ने र कीराले हुने क्षति आर्थिक संघार स्तर काट्नु अगाबै यसलाई समुचित बिधि द्वारा नियन्त्रण गर्ने ।
पाक्ने अवस्था
रगिंङ गर्ने तरिका
बेजात, झारपात तथा रोग कीरा ग्रस्त बोटहरु हटाउने ।
मलखादको मात्रा
१.६ कि.ग्रा. युरिया प्रति कट्ठाको दरले बाला बन्ने बेलामा टप ड्रेस गर्ने
बीउको लागि छनौट गर्ने
पाक्नुभन्दा अली अगाडिनै रगिंङ गर्ने र स्वस्थ बीउ छान्ने ।
पानीको निकास
धान पाक्नुभन्दा १५ दिन अगावै पानीको निकास गर्ने ।
धान काट्ने
ठीक समयमा बाली काटेर थन्काउनाले दानाको गुणस्तर बढ्नुको साथै नोक्सान कम हुन्छ ।
खेत सुख्खा भएपछि काट्ने । माटोको सतहदेखि ४ इन्च माथिबाट काट्ने ।
पराल सुकाउने
पराल खेतमा फिजाएर राख्ने ।
धान चुट्ने
धान चुट्दा क्षति कम हुने गरी गर्ने ।
धान भण्डारण
भण्डारण गर्दा चिस्यान १२ प्रतिशत हुनुपर्छ । ३-४ घाममा सुकाएर दातले टोक्दा कटक्क आवज आएमा भण्डारण गर्न उपयुक्त हुन्छ ।
धान बालीमा लाग्ने मुख्य रोगहरु
मरुवा (Blast)
पातमा, आख्लामा र अन्य भागमा लाम्चो दाग वा थोप्ला देखिन्छन् । आख्ला आक्रमण भएमा सजिलै भाचिन्छ । यस्तो अवस्थाको रोगलाई घाटीमा मरुवा (Neck blast) लागेको भनिन्छ ।
रोग अवरोधक जात लगाउने । बीउ उपचार गरी ब्याड राख्ने । खेतमा पानी जमाई राख्ने । गाँजिएको अवस्थामा रोग लागेमा हिनोसान १.५ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।
फेद कुहिने रोग (Foot Rot)
रोगी बिरुवा अग्लो नहुने, पहेलिने र अन्तमा फेद कुहिएर मर्दछन् ।तल्लो आख्लाहरुबाट जरा निस्किन्छन् ।
Bevistin वा डेरोसाल ३ ग्राम प्रति किलोग्राम बीउका दरले बीउ उपचार गर्ने । खुमल-४ जातको धानले यो रोग सहन सक्दैन ।
खैरो थोप्ले (Brown Leaf
पात पहेलिनु, पातमा खैरो वा कासजस्तो रंग भएको थोप्ला हुनु ।जरा खैरो हुनु । डाइथेन एम.-४५ एक किलो बीउमा ३ ग्राम बिषादीका दरले बीउ उपचार गर्ने ।
डढुवा (BLB)
पातको किनारमा भिजेको जस्तो दाग देखिन्छ । दाग बढ्छ र किनारा तरंगी हुन्छ र पहेलो वा हलुका खैरो हुन्छ । कलिलो बोटमा रोग लागेमा बिरुवा ओइलाउने र मर्ने लक्षणहरु देखा पर्छन् ।
रोग अवरोधक जात लगाउने । एग्रीमाईसिन १०० ई.सी. बिषादी २ ग्राम ३ लिटर पानीमा मिसाई छर्ने ।
पातको फेद डडुवा रोग (Sheath blight )
पातको फेदमा अन्डाकार खैरा थोप्लाहरु भएपछि आकारमा वृद्धि हुदै जान्छ र ढुसीको कालो गिर्खाहरु देखापर्दछ । बोटको माथिल्लो भागमा समेत पुच्छर सुकेर डढेको जस्तो देखिन्छ ।
नाईट्रोजन मल सिफारिस मात्रा भन्दा बढी प्रयोग नगर्ने । हिनोसान १.५ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।
खैरा रोग (Khaira disease )
जिंकको कमीले देखिने यो रोगमा रोगी बोटको फेदतिरको पात पहेलियर जान्छ। पातमा खैरा थोप्लाहरु पनि देखिन्छ । पछि पुरै पात खैरो वा रातो हुन्छ ।गाज थपिने र बढ्ने क्रम रोकिन्छ । धान र उखुको घुम्ते बाली लगाउने । लक्षण देखापर्ना साथ १४ ग्राम जिंक सल्फेट र ८ ग्राम चुन ५० लिटर पानीमा मिसाई प्रति कट्ठाका दरले १० दिनको फरकमा २ पटक छर्कने । लक्षण देखिएमा केहि दिन सम्म खेतमा पानी सुकाउने।
धान बालीमा लाग्ने मुख्य कीराहरु
रिट्ठे, ट्वाँटी र किर्थो कीरा
बिरुवाको कलिलो अवस्थामा माटो मुनि रहेको जरा र डाँठको भाग खाईदिन्छ र बिरुवा मर्दछ । ट्वाँटी कीराले आलिमा दुलो पारेर पानी चुहिने समस्या पनि गराउछ ।
खेतमा पानी पठाउने ।
बिषादीको हकमा chloropyriphos १०% GR ०.५ केजी किटनासक बिषादी प्रति रोपनी १ m.l. प्रति लिटर पानीका दरले खेतमा पानी सुकाएर छर्ने ।
पतेरो (Rice bug
पातमा बढी आक्रमण भएमा बोटनै पहेलिने हुन्छ र वालामा आक्रमण गरेको छ भने दानाहरुमा खैरो दाग देखिने, दानाहरु फोस्रो हुने अथवा आधा फोस्रीएका दाना हुने गर्दछ ।
एकै समय पाक्ने धानका जातहरु छनौट गरी लगाउने। प्रकाश पासोको माध्यमबाट कीरालाई मार्न सकिन्छ। धान पसाउने बेलामा पतेरोको प्रकोप भएमा डसॅबान २०५ ई.सी.( कोलोरोपाईरीफोस) २ m.l. प्रति लिटर पानीमा मिसाएर बिहान वा साझको समयमा छर्ने ।
डर्टी ट्रयाप (जुटको बोरालाई गाई/ भैसीको ताजा पिसाबले भिजाएर आकर्षित गर्ने ) को प्रयोग गरी संकलन गरेर मार्ने ।
गवारो (Borer )
बिरुवाको कलिलो अवस्थामा आक्रमण भएमा मृत गावा देखिन्छ यदि बिरुवाको फुलफुल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो वाला देखिन्छ ।
प्रकाश पासोको माध्यमबाट पुतलीलाई आकर्षण गरी मार्ने । धान खेतको आलिमा भटमास लगाउने । मित्र जीवहरुको संरक्षण गर्ने र ट्राइकोग्रामा परजीवी कीरा हरेक हप्ता ६ पटकसम्म ५०,००० देखि १००,००० प्रति ३० कट्ठाका दरले छाड्ने ।
ब्यासिलस थुरिनजियन्सिस (Bt) ३ ग्राम प्रति लिटर पानीका दरले छर्किने ।
फड्के (Hopper) धानका बिरुवाहरु सुकेर मर्दछन् ।बिरुवाहरु गाजिने र बढ्न सक्दैनन् । धानको बोटमा वाला नलागी पराल जस्तो भई वोट सुकेर जान्छ।
डाइमेथोएट (रोगर, नुगर आदि) ३५ ई.सी. १-१.५ m.l. प्रति २ लिटर पानीमा अथवा डसॅबान २०५ ई.सी.(कोलोरोपाईरीफोस) २ m.l. प्रति लिटर पानीमा अथवा कन्फीडर २०० m.l. ०.८% को झोल बनाएर छर्ने ।
पात वेरुवा (Leaf roller)
पातलाई वेरेर भित्र पट्टि बसी पातको हरियो पदार्थ खाईदिन्छ र पात सुक्दछ ।
काडेदार डोरी लिई दुवै छेउमा समातेर खेतको दुई छेउमा बस्ने र धानलाई छुवाएर क्रमशः बिपरित दिशातिर जाने। यसो गर्नाले धानको पातमा रहेका पात बेरुवाका लार्भाहरु पानीमा खसेर नष्ट हुन्छ । प्रकोप बढी भएमा अन्तिम विकल्पको रुपमा बजारमा उपलब्ध हुने सम्पर्क बिषादी chloropyriphos २० % EC ३-५ m.l. प्रति लिटरको दरले छर्ने ।
मिलिवग (Mealy bug)
बिरुवा रोगाउने, बढ्न नसक्ने, जिङरिंङ परेर पहेलिन्छन्, बिरुवामा वाला लाग्दैन ।
खेतमा पानीको सतह बढाउने ।
ब्यासिलस थुरिनजियन्सिस (Bt) ३ ग्राम प्रति लिटर पानीका दरले छर्किने ।
फटयांङग्रा
बिरुवाको पात तथा अन्य भागहरु खाएर बिरुवाको वृद्धि तथा उत्पादनमा असर गर्दछ ।
रोगर वा मेटासीस्टक्स १ m.l. प्रति लिटर पानीमा मिसाई छर्ने अथवा कोलोरोपाईरीफोस २० ई.सी. १ m.l.प्रति लिटर पानीमा मिसाई छर्ने ।
सन्दर्भ सामग्री:-
कृषि सूचना तथा संचार केन्द्र, कृषि डायरी २०७६
कृषि सूचना तथा प्रशिक्षण केन्द्र प्रकाशन, धान बाली पात्रो