बुधबार, १६ माघ २०८१

चिया श्रमिकको ज्यालामा वृद्धि : दैनिक ज्याला ४१५ रुपैयाँ

चिया श्रमिकको दैनिक ज्याला बढेको छ । चिया उत्पादक संघ र ट्रेड युनियनका प्रतिनिधिबीच श्रमिकको दैनिक ज्याला वृद्धि गर्ने सहमति जुटेको हो । दुई आर्थिक वर्षका लागि श्रमिकको दैनिक आधारभूत ज्यालामा ५० रुपैयाँ वृद्धि भएको हो । यसका लागि बुधबार भद्रपुरमा संघ र ट्रेड युनियनका प्रतिनिधिबीच भएको आठौं पटकको बैठकमा चारबुँदे सहमति भएको छ ।

सहमतिअनुसार बढेको दैनिक ज्याला साउन १ देखि नै लागू हुने भनिएको छ । सहमति जुटेको ५० रुपैयाँमध्ये यस वर्ष दैनिक आधारभूत ज्यालामा ३० रुपैयाँ वृद्धि हुनेछ । बाँकी २० रुपैयाँ ०७८ साउन १ देखि लागू हुने गरी वृद्धि गर्ने सहमति जुटेको नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले जानकारी दिए । चिया बगान श्रमिकले आधारभूत ज्याला २ सय ३१ र महँगी भत्ता १ सय ५४ गरी दैनिक ज्याला ३ सय ८५ रुपैयाँ पाउँदै आएका थिए । सहमतिअनुसार श्रमिकले यस वर्ष आधारभूत ज्याला २ सय ६१ र महँगी भत्ता १ सय ५४ गरी दैनिक ज्याला ४ सय १५ रुपैयाँ पाउनेछन् । ०७८ साउनदेखि वृद्धि हुने थप २० रुपैयाँ पनि श्रमिकको दैनिक आधारभूत ज्यालामा जोडिनेछ ।

बैठकमा चिया प्रशोधन कारखानामा काम गर्ने श्रमिक तथा बगानमा काम गर्ने नाइके, सरदार र चौकीदारको दैनिक भत्तामा १३ रुपैयाँ वृद्धि गर्ने सहमति जुटेको छ । उनीहरूले पाउँदै आएको दैनिक भत्ता ४२ रुपैयाँबाट वृद्धि गरी गत साउन १ देखि लागू हुने गरी ५५ रुपैयाँ पुर्‍याइएको छ । श्रम ऐन, ०७४ अनुसार प्रत्येक २ वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार ज्याला पुनरावलोकनको माग गर्दै चिया क्षेत्रमा क्रियाशील तीनवटा ट्रेड युनियनले गत भदौ ९ गते चारबुँदे मागपत्र उत्पादक संघलाई बुझाएका थिए । श्रम ऐनअनुसार ०७५ साउनदेखि चिया श्रमिकको दैनिक ज्यालामा १ सय ७ रुपैयाँ वृद्धि भएको थियो । वृद्धि भएको ज्याला चिया उद्योगीले श्रमिकलाई दिएका थिएनन् । ०७५ चैत १७ देखि ४४ दिनसम्म काम ठप्प गरी आन्दोलन गरेपछि उद्योगी श्रमिकलाई दैनिक ज्याला २ सय ७८ मा १ सय ७ वृद्धि गरी ३ सय ८५ रुपैयाँ दिन सहमत भएका थिए । ०७५ साउनदेखि चैत १५ सम्मको वृद्धि भएको १ सय ७ रुपैयाँ ज्याला भुक्तानी दिने कार्यलाई निरन्तरता दिने सहमतिसमेत जुटेको तामाङले बताए । चिया क्षेत्रमा काम गर्ने सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने सहमति पनि जुटेको छ । दुवै पक्षको प्रस्तावमाथि छलफल गरी दुई आर्थिक वर्षका लागि सहमति जुटाउने काम भएको चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले जानकारी दिए । कोभिड–१९ को महामारीबीच श्रमिकको दैनिक ज्याला वृद्धि गरेको उनको भनाइ छ । कान्तिपुरदैनिकमा अर्जुन राजवंशीले लेख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *