सोमबार, २१ माघ २०८१

सुर्तीको पातको मूल्य पाएनन् कृषकले

वैकल्पिक खेतीको रुपमा सुर्ती खेती गरेका पर्साका ठोरीका कृषकले सुर्तीको पात बिक्री गरेको डेढ महिना भन्दा लामो समयमा पनि भुक्तानी नपाएपछि मर्कामा परेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज नजिक पर्ने पर्साको ठोरी गाउँपालिकाका किसानले लगाउन अन्य बालीहरु वन्यजन्तुले नष्ट गरिदिने गरेकाले वैकल्पिक खेतीको रुपमा सुर्ती खेती गर्दै आएका छन् । ९ महिना भन्दा लामो समय मेहनत गरेर बिक्री गरेको सुर्तीको भुक्तानी रोकिएपछि घर खर्च टार्न र खेती गर्न लिएको ऋण तिर्न समस्या परेको किसानहरुले दुखेसो गरेका छन् ।

ठोरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने शान्तिटोल, सुन्दरटोल, निर्मलबस्ती, वडा नम्बर ३ को ब्रम्हानगर, नयाँबस्ती, बुद्धनगरलगायतका गाउँका किसानले सुर्तीको पात बिक्री गरेबापतको भुक्तानी अहिलेसम्म पाएका छैनन् । सुर्ती खेती गरेका ठोरीकै केही किसानहरुले सुर्ती बिक्री गरेर भुक्तानी लिएको भएपनि निषेधाज्ञाको बहानामा भुक्तानी रोकिएपछि आफूहरु मर्कामा परेको शान्तिटोलका किसान राजु थिङले बताए । साउनको पहिलो हप्तामा सुर्तीको पात बिक्री गरेका थिङले डेढ महिना बित्दासमेत रकम नपाएको बताए । यस वर्षका लागि सुर्ती खेती गर्न बिऊ राख्ने समय भइसकेपनि अघिल्लो वर्षको सुर्तीको बक्यौता नपाएपछि फेरि खेती गर्ने कि नगर्ने भन्ने अन्योल भएको किसानहरुको भनाइ छ । ठोरीका धेरैजसो किसानले सुर्ती बिक्री गरेपछि भुक्तानीको रकमले अन्य बाली लगाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *