असोजमै लटरम्म सुन्तला !
सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन्।
बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उनी उत्साहित बनेका छन्।
खड्काले पाँच वर्षअघि झण्डै १०० बेमौसमी जातका सुन्तलाका बिरुवा लगाएका थिए। गतवर्ष पाँच सात वटा रुखमा सुन्तला फले पनि अहिले झण्डै १५ रुखमा सुन्तला पाकेका छन्।
अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यशोधा र पोङ्कान भने एक महिनापछि पाक्नेछन्।
‘फोहोरपरार यही समयममा उन्सु मात्रै १५-२० केजी सुन्तला बिक्री गरेको थिएँ, अहिले यसको उत्पादन बढेको छ’ खड्काले भने, ‘अब एक–एक महिनाको फरकमा यशोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती विस्तार गरिनेछ।’
खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा १०० दाना मात्रै लाग्ने गर्दछ। प्रतिकिलो १५० रूपैयाँमा बिक्री हुने खडकाको भनाइ छ।
सुन्तलाका सानो बोटमा लटरम्म सुन्तला पाक्न थालेपछि कृषक खड्काले बिक्री गर्न थालेका छन्।