सुनिश्चित बचत बिना दीगो कृषि विकास नहुने मन्त्री भुषालको भनाइ
कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले किसानको सुनिश्चित बचत नभएसम्म कृषिको दिगो विकास नहुने बताएका छन्।
कृषि विभाग र खाद्यका लागि कृषि अभियानले आइतबार संयुक्त रुपमा आयोजना गरेको ४० औं विश्व खाद्य दिवसको कार्यक्रममा मन्त्री भुसालले एउटा किसानको जिविकोपार्जन कृषिबाट नभएसम्म कृषिको दिगो विकास नहुने बताएका हुन्।
‘बचतको अर्थ किसानलाई धेरै फाइदा दिनुपर्छ भनेको होइन तर उसको जीवनधान्न सक्ने हुनुपर्छ,’ मन्त्री भुसालले भने, ‘कृषिले जीवन चलेन भने उसले कृषि पेशा छोड्छ र अन्यत्र मोडिन्छ। यसले कृषि पेशा सुनिश्चित हुँदैन।’
खाद्य दिवस मनाइरहँदा विश्वका अर्बो मानिसहरू किन खाद्य संकटको वरिपरी रहेका छन् भन्ने कुरा विर्सन नहुने मन्त्री भुसालले बताए।
दिगो कृषि प्रणाली अपनाउन किसानको बचत सुनिश्चित गर्ने गरी मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ।
‘हामीले किसानको तथ्यांक लिने, कृषि नीति, ऐन, नियमावली बनाउँदै छौं, यो पक्कै पनि किसानको हितमा हुनेछ भन्ने छ,’ उनले भने।
मन्त्री भुसालले कृषिलाई ४० वर्षको अवधिमा धेरै मेहनतको साथ विगारेको बताउँदै विदेशीबाट प्राप्त सहयोगले गर्दा कृषिमा आफ्नोपन नदेखिएको बताए।