झापामा माघमै भयो धान रोपाई
अन्नको भण्डार भनेर चिनिएको झापामा माघ/फागुनमा नै धान रोप्ने काम शुरु भएको छ । पछिल्लो समयमा जिल्लामा तीन बालीसम्म किसानले धान लगाउन थालेका छन् भने नयाँ प्रविधिको प्रयोग बढ्दो अवस्थामा छ ।
उत्पादन लागत कम गर्ने र तीनपटक सम्म धान वाली लगाउन किसानहरु तत्पर देखिएपछि यसले उत्पादनको क्षेत्रमा सकारत्मक प्रभाव पार्ने बताईएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत धान सुपरजोन कार्यक्रम लागु भएसंगै किसानहरु बोरो धान खेतीतर्फ आकर्षित बन्दै गको पाईन्छ ।
चक्लाबन्दी खेती पकेट योजना अन्तर्गत कचनकवल ४ फेर्कागाछीमा रहेको हरित कृषक समुहमार्फत अहिले धान रोपाई भएको हो । राईस प्लान्टर (धान रोप्ने मेसीन) बाट धान रोप्नका लागि त्यसै अनुसारको धानको बीउ तयार पारेर समुहले धान रोपेको हो । परम्परागत रुपमा बीउ राखेर र प्लान्टरका लागि बेग्लै बीउ राखेर बोरो धान लगाईएको समुहका अध्यक्ष कनयैलाल गणेशले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइमार्फत १ सय २० हेक्टरभन्दा बढी क्षेत्रमा बोरो धान खेती भएको परियोजना कार्यान्वयन एकाइ प्रमुख रवीन्द्र सुबेदीले बताउनुभयो । मंसिर महिनामा बीउ राख्ने र माघ अन्तिम सातासम्म रोप्ने कार्य भएको उहाँको भनाइ छ ।
बोरो धान खेतीको उदेश्य सकेसम्म तीनबाली लगाउन भएको पनि सुबेदीको भनाई रहेको छ । सुपरजोन क्षेत्रमा सिँचाईका लागि सोलार प्रणाली जडान भएको क्षेत्रमा बिशेष गरेर बोरो धान रोपाई भएको छ । चैते धान भन्दा अघि बीउ राखेर धान रोपिएको अवस्थामा यसलाई बोरो भनिदै आएको छ । चैते धान रोप्नका लागि बीउ राख्ने समय फागुन दोश्रो सातादेखि शुरु हुन्छ ।