बिहिबार, १५ चैत्र २०८०

चियामा समस्या उस्तै

Share via:

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले एउटा सार्वजनिक कार्यक्रममा चियाका विषयमा धेरै गुनासो गर्नुभयो । उहाँले चिया उत्पादकले बोरामा खुट्टाले खाँदेर बेच्ने गरेको बताउनुभयो ।

यतिमात्र होइन, बोरामा खादेको चिया किन्न उद्योगमा फोन गर्ने र ‘उचित दाम दिए ल्याउँछु’ भन्ने गरेको सुनाउनुभयो । देशकै बढी चिया उद्योग र चिया उत्पादन हुने नगर हो सूर्योदय । चियामा पनि अर्थोडक्स यस क्षेत्रमा बढी उत्पादन हुन्छ । यस क्षेत्रका किसान, उद्यमी र श्रमिकले गुनासो पोख्ने ठाउँ हो नगरपालिका तर नगरप्रमुख समेत यिनै विषयमाथि गुनासो गर्र्दैहुनुहुन्थ्यो । त्यसमा पनि सार्वजनिक कार्यक्रममा ।

नगरप्रमुखले यति मात्र भन्नुभएन । उद्योग उद्योगबीच अस्वस्थ प्रतिस्पर्धा हुँदा चिया क्षेत्र चल्नै सकस परेको राईले गुनासो गर्नुभयो । उहाँले केही व्यक्तिले झापाको सिटिसी चियालाई इलामको चिया भन्दै सूर्योदय नगरपालिकास्थित कन्याममा बेच्ने गरेको समेत सुनाउनुभयो । राई आफै नेतृत्वदायी पदमा हुनुहुन्छ । आफँैले समस्या सुल्झाउनु पर्ने हो तर समाधान गर्नुको सट्टा गुनासो गर्दै हुनुहुन्थ्यो । गुनोसो नगरप्रमुख राईको मात्र थिएन इलाम नगरपालिकाका प्रमुख महेश वस्नेतको पनि थियो ।

इलाम नगरपालिका चियाको इतिहास बोकेको नगर हो । विसं १९२० मा इलाम नगरपालिकाको अहिलेको इलाम चिया बगानमा तत्कालीन गजराजसिंह थापाले चिया रोपण गरेको इतिहास छ । त्यसपछि मात्रै अन्य क्षेत्रमा चिया रोपण भएको थियो ।

इतिहास बोकेको र चिया क्षेत्रमा अगाडि रहेको नगरकै प्रमुखले चियाको बजारीकरणमा गहिरो गुनासो पोख्नुभयो । उहाँले प्रविधि र प्रतिस्पर्धाका बीच नेपालको चिया विश्वबजार लानुपर्ने बाध्यता बताउनुभयो । उहाँले यथास्थितिबादी बजारकै कारण नेपाली चियाको बजारमाथि नउठेको गुनासो पोख्नुभयो ।

गुनासो नगर प्रमुखको मात्र थिएन । प्रदेश नं १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाको पनि कार्यक्रममा गुनासै सुनिन्थ्यो । उहाँले नेपाली चियाको बजार भारतीय बजार भएको बुझ्नाले कम मूल्यमा बेच्नु परेको बताउनुभयो । उहाँले चियाको बजारीकरणका लागि तेस्रो मुलुक वा भारतकै नयाँ बजार खोज्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित