शनिबार, १९ माघ २०८१

चिनी उद्योगलाई सिजनमै उखु अभाव

माघ महीना उखु किसान र चिनी उद्योग दुवैका लागि अति व्यस्त समय मानिन्छ । उखु कटान र क्रसिङ (पेल्ने काम)ले भ्याइनभ्याइ हुनुपर्ने अहिले किसान र उद्योग दुवै क्षेत्र सुनसान जस्तै बनेका छन् । क्रमशः उखुखेती छाड्दै गएका किसान र ‘नो केन’ (उखु अभाव)ले चिनी उद्योग क्षेत्र सुनसान जस्तै बनेको हो ।

जिल्लाको गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा अहिले यही अवस्था छ । केही वर्ष पहिले सिजन (उखु पेलेर चिनी बनाउने बेला)मा ५८ लाख क्विन्टलसम्म उखु पेलेर कीर्तिमान बनाएको उद्योग अहिले उखुकै अभावमा एक÷दुई दिन बिराएर बन्द हुने गरेको छ । क्रसिङ मौसमा विगतमा दैनिक २० घण्टासम्म चल्ने गरेको यो उद्योग अहिले ‘नो केन’कै मारले मुश्किलले १०÷११ घण्टामात्र चल्ने गरेको उद्योग प्रशासनले बताएको छ ।

उखुको मूल्य समयमै नपाएपछि किसानले चार÷पाँच वर्षयता खेती घटाउँदै लगेका छन् । उखुको मूल्य निर्धारणमा वर्षेनि लामो समयसम्म किचोला हुनु, खेती गर्न सुलभ ऋण र प्राविधिक सहयोग नपाउनु र उखुको भुक्तानीका लागि बर्सेनी आन्दोलन नै गर्नुपर्ने अवस्था बन्नुले किसान उखु खेतीको विकल्पतर्फ लागेका गौशाला–१ का किसान धनलाल साशंकरले बताए ।   

यसपालि त उखु भएका किसानले आफै पेलेर मिठ्ठा (सख्खर) बनाउने र कतिपयले सख्खर बनाउने क्रसर उद्योगलाई उखु दिएपछि चिनी उद्योग परिसर सुनसान बनेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहको भनाइ छ । उखुको लिन लामो समय भुल्नुपर्ने, सरकारले दिने प्रक्रिया झञ्झटिलो हुनु, उखुखेतीमा वर्षेनि लागत बढ्दै जानु, सिँचाइको व्यवस्था नहुनु, समयमा मलखाद तथा बीउ नपाउनु र लागत अनुपातमा मूल्य नबढेपछि उखुखेती जिल्लामा झण्डै ५० प्रतिशत घटेको उनले बताए ।
उद्योगमा उखुको अभाव भएपछि भने उद्योगले अहिले नगदै उखु किन्ने नीति लिएका छन् । उद्योग सञ्चालन गर्न उखु लगातार अपुग भएपछि उद्योगका कर्मचारी झोलामै रकम बोकेर खेतखेत चहार्न लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *