बाख्रामा लाग्ने प्रमुख रोगहरु, लक्षण र रोकथामका उपाय
१) सीपीपी (सर्ने खालको पुरानो निमोनिया)
यो रोग जीवाणुको कारणले लाग्दछ ।
मृत्युदर अत्याधिक बढी हुन्छ । करिब ६० प्रतिशत देखि १०० प्रतिशतसम्म मृत्यु हुने पाईएको छ ।
लक्षणहरु
- बाख्रा साह्रै कमजोर देखिन्छ,
- खानमा रुचि नदेखाउने,
- अत्यधिक ज्वरो आउने,
- बेलाबेलामा खोक्ने,
- श्वासप्रश्वासमा कठिनाइ हुने
कतिपय जनावरमा मुटुको धड्कनमा अनियमितता देखिने, जोर्नी तथा मस्तिष्कमा समेत फरकपन देखिन सक्छ ।
रोग सर्ने माध्यमहरु,
- रोगी पशु र स्वस्थ पशुबीच सम्पर्क भएमा,
- रोगी पशुले खाएको दाना–पानी वा गोठ/खोर, चरन–क्षेत्र प्रयोग भएमा ।
नियन्त्रणका उपायहरु
- गाउँका सबै प्रकारका बाख्राहरुलाई रोगबिरुद्ध सूई लगाउनुपर्छ,
- गाउँमा नयाँ पशु/बाख्रा ल्याउनु पर्यो भने उक्त पशु/बाख्राले रोग विरुद्धको सूई लिएकै हुनुपर्छ ।
- बथानबाट रोगी पशुलाई तुरुन्त अलग्याएर राख्नुपर्छ ।
- रोगी पशुको सम्पर्क/संसर्गमा आएका सम्पूर्ण वस्तुहरु नष्ट गर्नुपर्छ ।
उपचार तरिका:
टाइलोसिन (Tylosine) नामक औषधी सिफारिस गरिएको मात्रा अनुसार खुवाउने वा मासुमा सूई दिने ।
२) पि.पि.आर:
लक्षण
- १०४–१०६ डिग्री फरेनहाईट सम्म ज्वरो आउने,
- जिग्रिङ पर्ने, थुतुनो सुख्खा हुने, आँखा रातो हुने, खाना नखाने,
- नाकबाट पानी आउने, पीप बगाउने,
- नाकभित्र घाउ हुने, मुखभित्र रातो भई ओठ, जिव्रो र मुखभित्र जताततै खटिरा निस्कने,
- कालो छेर्ने, जलवियोजन हुने ।
रोकथाम र उपचार:
रोगको लक्षण देखा परिसकेपछि खास उपचार गर्न सकिदैन, त्यसैले लक्षण अनुसार उपचार गर्नुपर्छ । रोकथामको निम्ति २-२ वर्षको अवधिमा खोप लगाउनु जरुरी हुन्छ ।
३) पेट फुल्ने वा ढाडिने (ब्लोटिंग):
लक्षणहरु:
- देब्रे पेट फुल्ने र भकुण्डो जस्तो हुने,
- मुखबाट र्ञाल निकाल्ने,
- सास फेर्न अप्ठेरो हुने र मुख खोलेर सास फेर्ने,
- पेट दुखेको अनुभव गर्ने र कराउने,
- दिशा पिसाब बन्द हुने
उपचार:
- दाना दिन बन्द गर्ने, अगाडीको भाग उच्चा पारेर राख्ने,
- ट्रोकार र क्यानुला वा मोटो सुईको माध्यमबाट हावा निकाल्ने
४) मासे रोग:
लक्षणहरु:
- पशुहरु एक्कासी थाहै नपाई चरन वा खोरमा मरेको भेटिन्छ,
- ज्वरो आउने, झोक्राउने, खाना नखाने, रगत मिसिएको छेर्ने गर्दछन्,
- शरीर कमाउने र सुतीरहने जस्ता लक्षणहरु पनि देखा पर्दछन्
उपचार तथा रोकथाम:
- बाख्राको आहारा अचानक नबदल्ने र धेरै दाना एकैपटक नदिने,
- ६–६ महिनामा खोप लगाउने
५) थुनेलो (मास्टाटाईटिस)
विभिन्न किसिमका जीवाणुको कारणबाट थुनेलो रोग लाग्ने गर्दछ । थुन कल्चौडा सुन्निने, थुनबाट रगत वा पिप आउने, दूध सुक्ने र उपचार नपाएमा थुन बन्द हुने जस्ता लक्षण यो रोगमा देखिन्छ । कारण र रोगको अवस्था अनुसार थुनेलो भिन्न भिन्न प्रकारको हुन्छ र लक्षण पनि फरकफरक देखिन सक्छ ।
उपचार तथा रोकथाम:
- एण्टिबायोटिक सुई वा मल्हम मासु वा थुनमा लगाउने,
- लक्षण अनुसार औषधिको प्रयोग गर्ने,
- बाख्रा र खोरको सरसफाई र थुन एवं खोर भित्र निसंक्रमणको व्यवस्था मिलाउने
६) खोरेत
लक्षणहरु:
- ज्वरो (१०४–१०५)० फरेनहाईट सम्म आउँछ,
- र्याल काढ्ने, खन मन नगर्ने, मुख च्याप च्याप गर्ने,
- खुरको बिच भागमा रातो भएर घाउ देखिने र खुट्टा खोच्याउने,
- जिब्रो सुन्निने र पानी फोका देखिने आदि
उपचार तथा रोकथाम:
- मुखको घाउ सफा गर्ने फिटकिरी पानी वा पोटास पानीको प्रयोग गर्ने,
- खुट्टामा पोटास पानीको झोलले सफा गरी हिमेक्स मल्हम लगाउने,
- प्रत्येक वर्ष खोप लगाउने
७) माहोला:
विफरमा जस्तै मोहोला पनि बाख्राको संक्रामक रोग हो । विषाणुबाट लाग्ने यो रोगमा ओंठ तथा मुखमा घाउ आउने, पशुले खान वा चर्न छोड्ने र पाठापाठीलाई बढी असर पार्ने गरेको पाइनेछ ।
लक्षणहरु:
- छालामा स–साना दाना देखा पर्ने,
- यस्तो घाउ शुरुमा ओठको चेप र पछि ओठ, मुख, कान, खुट्टाको छाला, अण्डकोष, सुत र थुनमा देखिने,
- घाउ ३–४ हप्तामा आफैं निको हुने,
- डर लाग्दो अवस्थामा शरीरभरी आउने, ज्वरो बढ्ने, आन्तरिक अंगहरुमा घाउ भई पाठापाठी मर्ने पनि हुन्छ
उपचार तथा रोकथाम:
- झिंगाबाट बचाउन ५% निलोतुथोको झोल वा हिमेक्स मलम लगाउने
आन्तरिक परजीवीको उपचार र नियन्त्रण विधि
बाख्राको बड्क्यौंला/दिसाको नियमित प्रयोगशाला परीक्षण गराउने गर्नुपर्छ । पशुसेवा कार्यालयले सिफारिस गरेका औषधीहरु वर्षमा २ पटक खुवाउने गर्नुपर्छ । परजीवी बोक्ने माध्यमहरु –जस्तैः शंखेकीरा; ढाप/दलदले र बढ्ता चिसो जमिनमा बढी पाइने हुँदा त्यस्तो ठाउँमा बाख्रालाई चराउनु लानुहुँदैन । पराल खुवाउनैपर्ने हो भने धान थन्क्याएको कम्तीमा ६ महिना भएपछि मात्र त्यस्तो पुरानो पराल खुवाउनुपर्छ ।