झापामा रबर उद्योग स्थापना

नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका ७ मा रु २० करोडको लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ ।
विसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल र उहाँको परिवारले पाँच हेक्टर जग्गामा पहिलोपल्ट रबर खेती गर्नुभएको थियो । हाल झापा, मोरङ र सुनसरीमा करीव ७०० हेक्टरमा रबरको खेती भइरहेको छ । रबरको खेती फस्टाउँदै गएपछि स्वदेशमै उद्योग सञ्चालनको आवश्यकता महसुस गरी काठमाडौँ र झापाका लगानीकर्ताले साझेदारीमा कनकाई रबर इन्डस्ट्रिज स्थापना गरेका हुन् ।
डेढ बिघा जग्गामा फैलिएको रबर उद्योगले यसै वर्षदेखि किसानले उत्पादन गरेको रबरको चोप खरिद गर्ने जनाएको छ । उद्योगले प्रतिघण्टा एक हजार लिटर रबरको चोप प्रशोधन गर्ने भएको छ । किसानबाट खरिद गरेको रबरको चोपलाई आधुनिक मेसिनमा प्रशोधन गरी पहिलो चरणमा जुत्ता चप्पलमा प्रयोग हुने सुलेसन (टाँस्ने पदार्थ) र रबर सोल उत्पादन गरिने सञ्चालक बालकृष्ण सापकोटाले बताउनुभयो । नेपालमा सयौँको सङ्ख्यामा रहेका जुत्ता चप्पल उद्योगले यहाँबाट उत्पादित सुलेसन र सोल प्रयोगमा ल्याउने सञ्चालकको अपेक्षा छ । हालसम्म ती उद्योगले यस्तो पदार्थ भारतको केरला, भियतनाम र थाइल्यान्डबाट आयात गर्दै आएका थिए ।