६० हजार टन युरिया र डिएपी भित्रियो

कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरबाट ३०/३० हजार टन युरिया र डीएपी मल भित्र्याएको छ । वीरगन्ज, भैरहवा र विराटनगर नाकाबाट मल भित्रिइरहेको कम्पनीको वीरगन्ज क्षेत्रीय कार्यालय प्रमुख गोरखनाथ केसीले जानकारी दिए । हाल मलको अन्तिम लट भित्रिने क्रममा छ ।
स्विस सिंगापुर कम्पनीले ३० हजार टन युरिया र भारतको देश ट्रेडिङ कम्पनीले ३० हजार टन डीएपी मल तीन वटा नाकाबाट नेपाल ल्याएको हो । ‘वीरगन्जबाट १२ हजार ५ सय, भैरहवाबाट १०/१० हजार र विराटनगर नाकाबाट ७ हजार ५ सय टनका दरले युरिया र डीएपी भित्रिँदै छ,’ उनले भने, ‘वीरगन्जको कोटाको मल सिर्सिया सुक्खा बन्दरगाहबाट क्रमशः भित्रिँदै छ । भैरहवाको सुनौली र विराटनगरको जोगबनीमा रेलबाट आइरहेको छ ।’ वीरगन्ज नाकाबाट १ हजार ५ सय टन डीएपी मात्र भित्रिन बाँकी रहेको र अन्य नाकाबाट दुवै मल करिब भित्रिइसकेको उनले जानकारी दिए ।
दुई साताअघि पनि कम्पनीको ३० हजार टन युरिया नेपाल भित्रिएर त्यसको अधिकांश परिमाण माग भएका जिल्लामा परिचालनसमेत भइसकेको केसीले बताए । त्यही लटले अहिले किसानले गहुँ खेतीमा प्रयोग गर्न सहज भएको उनको दाबी छ । अहिले भित्रिएको मल पनि माग भएका जिल्लामा परिचालन गर्न सकिने उनले बताए । ‘गहुँ बालीकै लागि माग आए सम्बन्धित जिल्लामा पठाइनेछ,’ उनले भने, ‘अहिले माग नआए आउँदो धान सिजनका लागि दुवै मल मौज्दात राखिनेछ ।’ कम्पनीको वीरगन्ज कार्यालयले प्रदेश १, २ र वाग्मती प्रदेशसहितका डेढ दर्जनभन्दा बढी जिल्लामा मल वितरण गर्दै आएको छ ।