बुधबार, ०७ फाल्गुण २०८१

कृषिमा लाग्ने युवालाई बिनाधितो कर्जा

सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ भुसालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।    
    
विदेशबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएका युवा तथा अन्य युवालाई कृषि पेशामा आवद्ध गराई समृद्ध सन्धिखर्क नगरपालिका बनाउन सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख भुसालले बताउनुभयो । कृषि पेशा गर्नेलाई बिनाधितो कर्जा प्रर्वाह गर्न कुनै पनि प्रकारको शुल्क नलाग्ने, ब्याजदर पनि दुईदेखि तीन प्रतिशतको हाराहारीमा रहने नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख मुख्य प्रबन्धक लेखनाथ भुसालले बताउनुभयो । सुलभ कृषि कर्जा लिने व्यवसायीलाई बैंकले इन्टरनेट बैंकिङ, एटिएम सेवा, इबिबिएसलगायतका सेवासमेत निःशुल्क प्रदान गर्ने मुख्य प्रबन्धक भुसालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित