सोमबार, १२ माघ २०७७

विदेशबाट फर्किएर सामुहिक तरकारी खेतीमा रमाउंदै युवाहरु

Share via:
  •  
  •  
  •  
  •  
  •  

 

म्याग्दीको मंगला गाउँपालिका-२ कोत्रवाङका युवाले सामुहिक तरकारी खेती सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्केका ४ जना युवा मिलेर गाउँकै जग्गा भाडामा लिएर व्यवसायिक रुपमा अर्गानिक तरकारी उत्पादन गर्न थालेका छन् । गाउँपालिका सम्भावना नदेखेर विदेश भौतारिने युवाहरुको लहरले गाउँ नै रित्तिदै गएपछि विदेशी भूमिमा रहेका युवाहरु गाउँमै फर्केर व्यवसायिक  सामूहिक तरकारी खेती सुरु गरेका छन् ।

स्थानीय तेजेन्द्र आचार्य, दलबहादुर नेपाली, भविलाल सुवेदी र ओमबहादुर नेपाली मिलेर ७ रोपनी जग्गा भाडामा लिई व्यवसायिक तरकारी खेती सुरु गरेका हुन् । वार्षिक ४५ हजार रुपैयाँमा जग्गा भाडामा लिएर युवाहरुले सामूहिक तरकारी खेतीमा हात हालेका छन् । गाउँपालिकाबाट तालिम पाएर युवाहरुले बाबियाचौरमा कम्पोस्ट मलको उद्योग पनि संचालन गरेका छन् ।

विदेशको ज्ञान, सीप र प्रविधिलाई उपयोग गरेर तरकारी खेती सुरु गरेको संचालक मध्येका एक तेजेन्द्र आचार्यले बताउनु भयो । रासायनिक मल र विषादीको प्रयोग नगरी तरकारी उत्पादन गर्ने सोचका साथ सामुहिक खेतीमा होमिएका युवाहरुले मंगला प्रांगारिक मल उद्योग र प्रांगारिक तरकारी फारम स्थापना गरेका हुन् ।

५ ओटा टनेलमा टमाटर संगै करेला, घिरौंला, भान्टा, खुर्सानी, बोडी, बन्दा, कुली लगायतका तरकारी उत्पादन गर्दै आएको युवा कृषकहरु बताउँछन् ।

चार जना युवाले ४ लाख रुपैयाँ लगानी गरेर संचालन गरेको तरकारी फर्मबाट छिमेकीहरु दंग परेका छन् । व्यवसायिक तरकारी खेतीमा गाउँपालिका र कृषि ज्ञान केन्द्रले टनेल लगायतका सामग्रीमा सहयोग गरेका छन् । गोरखापत्र दैनिकबाट लिईएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *